विराटनगर - विराटनगर महानगरपालिकाले बाढीका कारण मृत्यु भएकाको परिवारलाई ५० हजार राहत उपलब्ध गराएकको छ । बाढीले बगाएर मृत्यु भएका विराटनगर–१ का २१ वर्षीय सञ्जित कामतका आफन्तलाई महानगरपालिकाले किरिया खर्च उपलब्ध गराएको हो ।

विराटनगर महानगरपालिकाअन्तर्गतको विपद ब्यवस्थापन समितिको बैठकबाट विराटनगरमा कात्तिक २ र ३ गते परेको अविरल वर्षाका कारण आएको बाढीबाट मृत्यु भएका परिवारलाई जनही ५० हजार दिने निर्णय गरेको थियो । बाढीमा परेर ज्यान गुमाएका विराटनगर–१ का कामत, विराटनगर–५ का ४१ वर्षीय सञ्जय राई र विराटनगर–१२ का इसान भुजेलका परिवारलाई किरिया खर्चका लागि जनही ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरिएको थियो ।

कात्तिक ३ गते डुबानमा परेको घरभित्रबाट सामान निकाल्ने क्रममा सिंघिया खोलाको बाढीले कामतलाई बगाएको थियो । ३ दिनपछि उनको शव परोपकारघाट छेउमा फेला परेको थियो । विराटनगर महानगरपालिकाकोतर्फबाट आइतबार मेयर भीम पराजुलीले विराटनगर–१ स्थित धर्मशाला चौकमा बाढीले बगाएर निधन भएको कामतको घरैमा पुगेर उनका बुवा बैजनाथ कामतलाई किरिया खर्चका लागि ५० हजारको चेक प्रदान गरेका हुन् ।

मेयर पराजुलीले जीवनको अगाडि पैसाको मूल्य नभएपनि मजदूरी गरेर खाने कामतका परिवारलाई काजकिरियाका लागि प्रदान गरिएको रकमले केहि सहयोग पुग्ने बताए । उनले हरेक वर्ष सिंघियामा बाढी आउने गरेको र यसले दुःख दिने गरेको भन्दै महानगरपालिकाले बाढी र डुबान विरूद्धको व्यवस्थापनको कार्यलाई जारी राखेको बताए ।

वडा नंं १ का वडाध्यक्ष उद्धव अर्यालले जनप्रतिनिधि आपतको बेला दुखी पीडितको घरमा पुग्नु पर्ने बताए । बाढीका कारण मृत्युवरण गरेका राई र भुजेलका आफन्तलाई सोमबार ५० हजारको काजकिरिया खर्च वापतको चेक प्रदान गरिने मेयर पराजुलीले बताए ।