मोरङको सुन्दरहरैँचा नगरपालिकामा भारतीय लहरीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैँचा–४ दुलारी स्थित पुर्व–पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटर चालक सोही स्थानका ४५ वर्षीय श्याम लिङ्खाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय, बेलबारीका अनुसार शनिबार बेलुका पौने ६ बजे पश्चिमतर्फ आउँदै गरेको बिआर ५० जिए ०३०६ नम्बरको भारतीय लहरीले विपरित दिशाबाट जाँदै गरेको को३६प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका लिङ्खाको उपचाचरका क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेलुका पौने ७ बजे मृत्यु भएको हो ।
ठक्कर दिने लहरी प्रहरी चौकीको नियन्त्रणमा रहेका छ भने चालक फरार रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । उनका अनुसार चालकको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बेलाबरीले जनाएको छ ।















