झापा-झापामा मोटरसाइकल पुलमुनि खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा अर्जुन्धारा नगरपालिका–११ सालबारीका १८ वर्षीय कुसल दास रहेका छन् ।
सालबारीस्थित चारआली शनिश्चरे सडक खण्डमा कालिखोलाको कल्बटमा मोटरसाइकल ठक्कर खाई दुर्घटना भएको थियो । शनिबार राति साढे ९ बजे पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ४३७४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई कल्बटमा ठोक्किएर खोलामा झरेको थियो ।
घटनाको जानकारी पाएलगतै अस्थायी प्रहरी पोस्ट सालबारीबाट खटिएको प्रहरी टोलीले पानीमा डुबेर अचेत अवस्थामा रहेका दासलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड पठाएको थियो ।
तर अस्पताल पु¥याउनासाथ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको झापा प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।















