पाँचथर — बेमौसमी वर्षाको कारण पाँचथर जिल्लामा बाढी पहिरोमा परी १० दिनदेखि बेपत्ता भएका तीन जना नागरिकलाई अझै भेटिएका छैनन् । 

उनीहरूको खोजीका लागि पाँच दिनयता तालिम प्राप्त निकी र पिकु नामक कुकुरको प्रयोग गरी खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताए ।

बाढी पहिरोमा परी माङसेबुङ स्वास्थ्य चौकी इलामका स्वास्थ्यकर्मीहरू ठाकुर प्रसाद याख्खा र सुमन राई जिल्लाको मिक्लाजुङ गाउँपालिकाको चिसापानी पञ्चमीमा बेपत्ता भएका थिए भने मिक्लाजुङ –४ रविका सुबोध राई कार्तिक ३ गतेबाट बेपत्ता भएका हुन् । 

बेपत्ताहरूको खाजी गर्न नेपाल प्रहरीलाई सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासी तथा जनप्रतिनिधीहरुले सहयोग गरिरहेको प्रहरीले जनाएको छ । बेमौसमी वर्षाका कारण मिक्लाजुङ गाउँपालिकामा मात्र २२ जनाको ज्यान गएको थियो भने बाढी पहिरोको कारण जिल्लामा ३१ जनाको मृत्यु भइसकेको छ ।