उर्लाबारी-मोरङको कानेपोखरीका किसानले बीउका लागि शीत भण्डारमा भण्डारण गरी राखेको आलु कुहिएको छ । गत चैतमा झापाको दमकस्थित शान्ति कोल्ड स्टोरमा भण्डारण गरेको १ हजार ५ सय बोरा बीउ आलु कुहिएको मातृभूमि कृषि सहकारी संस्था लिमिटेड कानेपोखरी ७ का अध्यक्ष हिमप्रसाद तिम्सिनाले बताए ।

उनकाअनुसार सहकारी संस्थाका किसानको २४१ बोरा र अन्य विभिन्न स्थानमा सङ्कलन भएको १ हजार ३ सय बोरा आलु कुहिएको छ । एक दशकदेखि सोही शीत भण्डारमा बीउ आलु भण्डारण गर्दैआएका किसान पहिलो पटक यस्तो समस्या आएको बताएका छन् ।

चैतको दोस्रो साता किसानसँग प्रतिबोरा ४७५ रुपियाँ लिएर सहकारी संस्थाले आलु भण्डारणको जिम्मा लिएको थियो । किसानले आलु रोप्न बारी तयार गरेपछि सहकारी संस्थाले शुक्रबार बीउ आलु ल्याएको थियो । आलुका सबै बोरा फुटेका, आलु कुहिएको पाइएको छ । आलुको बीउ कुहिएपछि किसान मर्कामा परेका छन् ।

एक साताअघि आएका अविरल वर्षाले धानमा पुगेको अपुरणीय क्षति बिर्सिन नपाउँदै आलु कुहिएपछि किसान तनावमा परेका छन् । स्थानीय राजकुमारी तामाङ भन्छिन्, 'बोराको ४७५ रुपैयाँ तिरेर आलुको बीउ कोल्ड स्टोरमा पठाएको अहिले आउदा हालत यस्तो छ । जतै किसान मर्नु पर्ने, मेरो २ बोरै छैन भुइँको सोरेर लैजाउँ रातो हो कि सेतो । अर्कै बिजोग भयो यसपालि कैले धान कैले आलु ।'

यस्तै, स्थानीय देवीभक्त भट्टराईले किसान मारमा परेको बताए । 'अहिले बजारमा बीउ आलु प्रतिकेजी ६० रुपियाँ पर्छ,' उनले भने, 'आधाभन्दा बढी आलु काम नदिने अवस्थामा आएको छ । यसको क्षतिपुर्ति कसले दिने हो ?”

स्थानीय मातृभूमि कृषि सहकारी संस्था लि.को स्थापना नै किसानको बीउ आलु भण्डार गर्ने उद्देश्यले भएको थियो । २०५२ सालमा तत्कालिन बयरवन ९ र ८ का किसानले आलु समूह गठन गरेर गाउँका किसानको आलु बिराटनगर लगेर राख्ने गरेका थिए । त्यही आलु समूह कृषि सहकारीमा रुपान्तरण भएपछि हालको गाउँपालिका भरिका किसानको आलु सहकारीको समन्वयमा भण्डारण हुँदैआएको छ ।

उता दमकस्थित शान्ति शीत भण्डारका ब्यवस्थापक खेम काफ्लेले शीत भण्डारको २० प्रतिशत आलु बिग्रीएको स्वीकारे । उनका अनुसार २ हजार क्वीन्टल आलु भण्डारण भएकोमा ४ सय क्वीन्टल आलु कुहिएको छ ।

उनले विद्युत प्रशारण रोकिएर आलु कुहिएको किसानको भनाईप्रति असहमति जनाए । कुनै दिन विद्युत आपुर्ति रोकिएको छैन् । यो वर्ष विर्तामोड, विराटनगर, काठमाडौं, पाल्पा र चतराको कोल्डस्टोरमा पनि आलु कुहिएको बताए । १४ वर्षयता पहिलो पटक समस्या आएकोले कृषि ज्ञान केन्द्र र आलु विज्ञ, बैज्ञानिकसँग पनि परामर्श र छलफल भइरहेको काफ्लेले बताए । उनले किसानलाई ५० प्रतिशत क्षतिपुर्ति उपलब्ध गराउनेसमेत बताए।