विराटनगर- मोरङको विराटनगर महानगरपालिकाबाट हुन्डी आठ लाख रकमसहित भरिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बिर्तामोड–३ का ३४ वर्षीय उमेश साह रहेका छन् ।

प्रहरीले विराटनगर–१८ भेडियारीबाट बुधबार हुन्डीको ८ लाख २० हजार रुपैयाँसहित साहलाई पक्राउ गरेको हो । उनी सवार रहेको २९ प ८६४० नम्बरको स्कुटरको डिकीबाट उक्त रकम बरामद भएको हो । 

भारतबाट नेपालतर्फ आउँदै गर्दा भेडियारीको अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले उनको स्कुटर चेक गर्दा उक्त रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जनाए । 

उनका अनुसार उनी एक भरिया हुन् । हुन्डीबाट रकम मगाउने विराटनगरका एक व्यवसायी भने फरार छन् । भरिया साहलाई सोधपुछ गर्दागर्दै रकम मगाउने विराटनगरका मुख्य हुन्डी व्यापारी फरार भएको प्रहरीले जनाएको छ ।

साहलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धानको क्षेत्रीय कार्यालयमा पठाइएको छ ।