सुनसरी– सुनसरी घटनाबारे अनुगमन गर्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी इनरुवा आएका छन् । प्रहरी हिरासतमा मृत्यु भएका मोहम्मद हकिम साहको परिवार, प्रहरी, प्रशासनसँग कुरा गर्न अन्सारी इनरुवा आएका हुन् ।
उनले सुनसरी जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठकमा आवश्यक राय लिएको जानकारी दिए । अन्सारीले बुधबार सीसी क्यामेराको फुटेजलगायत घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।
सामाजिक सद्भाव कायम राख्ने कुरामा आयोग प्रतिबद्ध रहेको बताउँदै अन्सारीले संयमता अपनाउन अपिल पनि गरेका छन् ।
हिरासतमा रहेको भोक्राहा नरसिंह ५ टपराका मोहम्मद हकिम साहको हिरासतमै मृत्यु भएको थियो । प्रहरीले भने आत्महत्या गरेको तथा सिसिटिभी फुटेजमा हेर्दा गम्छा लगाएर हिरासतको ढोकामा झुन्डिएको क्यामेरामा स्पष्ट देखिएको जनाएको थियो ।
मृतक माथि प्रहरीले अभद्र व्यवहार मुद्दा चलाई अनुसन्धानका लागि हिरासतमा राखेको थियो । यसैबिषयमा इनरुवा ९ की एक युवतिसँग अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर युवतिलाई परिवार पक्षले बुझी लगेको र युवक माथि अभद्र व्यवहारको मुद्दा चलाउनु न्यायोचित नभएको तथा हिरासत मै मृत्यु हुनु भनेको सुनियोजित भएको पीडित परिवारको आरोप थियो ।















