विराटनगर- विराटनगरको हाटखोलास्थित जिर्ण अवस्थामा रहेको सिंघिया पुलको यथाशिघ्र जिर्णोद्वार गरिनु पर्ने माग राख्दै मोरंग व्यापार संघले जिल्ला प्रशासन कार्यालय, मोरङलाई ज्ञापन पत्र बुझाएको छ । मङ्गलबार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यूको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी श्री काशिराज दाहालज्यू समक्ष सो ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमार्फत संघका अध्यक्ष मून्दडाले विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रंगेली रोड सडकखण्डमा पर्ने विराटनगरको हाटखोलास्थित सिंघिया पुलको नाजुक अवस्थाप्रति संघको गम्भिर ध्यानाकर्षण भएको जनाए । 

उनले मोरङ–सुनसरी आर्थिक कोरिडोरअन्तर्गत रहेको कटहरी गाउँपालिकासहित आसपासका क्षेत्रमा सञ्चालित सयौँ उद्योग, कल–कारखानाहरु तथा मोरङका पूर्वी भेगका अधिकांश बजारहरुलाई औद्योगिक नगरी एवं व्यवसायिक केन्द्र विन्दु विराटनगर शहर र विराटनगर भन्सार नाकासँग जोड्न तथा आवागमन गर्न सो पुलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र एक मात्र विकल्पको रुपमा रहेको बताउँदै लामो समयदेखि सामान्य जिर्णोद्वार मात्र गरिँदै आएको उक्त पुल हालको भिषण बाढीका कारण थप क्षतिग्रस्त भई जर्जर अवस्थामा पुगेको जानकारी गरए । 

साथै, अध्यक्ष मून्दडाले यस कोरिडोरका आर्थिक क्रियाकलापहरुमध्ये सो क्षेत्रमा औद्योगिक–व्यवसायिक गतिविधिहरु र मालवाहक सवारी साधानहरुको आवागमन चाप अत्याधिक हुने गरेको जनाए । हालको जिर्ण अवस्थाको सो पुलको समयमै जिणोद्धद्वार नगरिए निकट भविष्यमै पुल क्षतिग्रस्त हुन गई जनधनको ठूलो क्षति हुनसक्ने र सो क्षेत्रसँगको मार्ग विच्छेद भई सयौँ औद्योगिक–व्यवसायिक प्रतिष्ठानहरु र स्थानीय बजारहरुको आर्थिक गतिविधि ठप्प हुने, हजारौँले रोजगारी गुमाउने आदि विभिन्न भयावह स्थिति सिर्जना हुनेतर्फ उनले सचेत गराएका थिए । 

तत्कालै सो पुलको जिर्णोद्वार तथा क्षमता विस्तारका कार्यहरु शिघ्रताका साथ अघि बढाउनु पर्ने जोड दिँदै सोका लागि सम्बन्धित निकायहरुमा समेत यथाशिघ्र पहल गर्न अनुरोध सहितको ज्ञापन पत्र र पुलको वर्तमान अवस्थाको तस्वीर संग्रह हस्तान्तरण गरेका थिए । यस्तै, मून्दडाले शहरी विकास कार्यालय, मोरङका कार्यालय प्रमुख मिलन आचार्यसँग प्रत्यक्ष भेट गरी पुल जिर्णोद्धारका लागि पत्र बुझाए । 

यसअघि संघले काठमाडौँ स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय रेनुकुमारी यादव, शहरी विकास मन्त्री माननीय रामकुमारी झाँक्री, सडक विभागका महानिर्देशक श्री ई. अर्जुनजंग थापा, प्रदेश नं. १का भौतिक पूर्वाधार विकास मन्त्री, सडक डिभिजन कार्यालय, विराटनगरका प्रमुखलगायतलाई समेत पुलको जिर्णोद्धारका कार्य तत्कालै थालनी गर्न अनुरोध गर्दै पत्राचार गरिसकेको छ ।