विराटनगर-फुजीमा आयल कम्पनी प्रालिले उत्पादन गरेको इन्जिन आयल तथा ग्रिजहरु प्रयोग गर्दा इन्जिन र मेशिनरीमा कुनै समस्या आएमा कम्पनीले शतप्रतिशत क्षतिपूर्ति दिने भएको छ । कम्पनीले नेपालमै पहिलो पटक उत्पादीत सामाग्री प्रयोग वापद हुने खराबीको विमा(product liability insurance) गरेको छ । कम्पनीले एक करोड सम्मको क्षतिको शतप्रतिशत भुक्तानी गर्नेगरि हिमाल इन्स्योरेन्स कम्पनीसंग सम्झौता पनि गरेको छ । 


२७ बर्षदेखी नेपालमै इन्जिन आयल र ग्रिज उत्पादन गर्दै आएको फुजीमा कम्पनीको कन्ट्रोल लुब्रिकेन्ट निकै लोकप्रिय ब्राण्ड मानिन्छ । कम्पनीले म्याजिक प्लस र रोयल ब्राण्डमा पनि इन्जिन आयल र ग्रिजका ७० भेराटिजहरु बजारमा पठाइरहेको पत्रकार सम्मेलनमा कम्पनीका प्रवन्ध निर्देशक सुबोध कोइरालाले जानकारी दिए । 


कुनैपनि कम्पनीले आफ्नो उत्पादन बजारमा पठाउने त्यसपछि त्यसको ग्यारेन्टी वा त्यसले पुर्‍याउने क्षतिको बिषयमा उपभोक्ताको क्षतिलाई वेवास्ता गर्ने परम्परालाई तोड्दै कम्पनीले आफ्नो कुनैपनि उत्पादनले इन्जिनमा क्षति पुगेमा त्यसको क्षतिपूर्तिको ग्यारेन्टी गरेको कोइरालाले जानकारी दिए । कम्पनीले बार्षिक रुपमा ३५०० किलो लिटर ल्यूब आयल उत्पादन गरि बजारमा पठाउदै आएको छ । 


भारत लगायतका विदेशी कम्पनीहरुको इन्जिन आयल र ग्रीज गुणस्तरिय हुन्छन र नेपाली उत्पादनमा त्यो गुणस्तर छैन भन्ने भ्रम तोड्न पनि पहिलो पटक फुजिमा आयल कम्पनी प्रालिले उपभोक्ताकै इन्जिन र मेशिनरीको क्षतिको पूर्ति दिनेगरि इन्स्योरेन्सको पोलिसी लिएको आएको उनले बताए । 


विकसित मुलुकहरुमा आफ्ना उत्पादनहरुले क्षति पुर्‍याएमा त्यसको पूर्ति उपभोक्ताले पाउने गरेपनि नेपालमा त्यो खालको इन्स्योरेन्स पोलिसिनै नभएको कारणले आफुले विमा समिति लगायतका सरकारी निकायहरुमा उपभोक्ताको हितका लागि यसको इन्स्योरेन्स गर्न आवश्यक रहेको बताएपछि निकै कसरत पछि मात्र नेपाल पनि त्यस किसिमको क्षतिको पूर्ति हुने गरि इन्स्योरेन्स पोलिसी ल्याएको जानकारी कोइरालाले दिए । 


नेपालमा लुब्रिकेन्ट उत्पादन गर्ने आठ ठुला कम्पनी छन । अन्य घरेलु स्तरमा समेत स-साना कम्पनीहरु रहेको छन । नेपालका उद्योगहरुको उत्पादनले नेपाली बजारको ३५ प्रतिशत मात्र हिस्सा ओगटेको छ बाँकी ६५ प्रतिशत हिस्सा भारत लगायतका कम्पनीहरुको उत्पादनले ओगटेको छ । भारत लगायतका मुलुकबाट आउने सवारी साधनले उतैको विदेशी कम्पनीको मात्रै इन्जिन आयल प्रयोग गर्न सुझाव दिने भएकाले नेपालका उत्पादनहरुको बजार खुम्चिरहेको छ । नेपालमा बार्षिक २० अर्बको इन्जिन आयल र ग्रिज खबत हुने गरेको छ । जसमा १३ अर्बको इन्जिन आयल विदेशी कम्पनीहरुको आयात हुदै आएको छ । 


प्रवन्ध निर्देशक कोइरालाले व्यापार घाटा कम गर्न पनि सरकारले नेपाली उत्पादनको गुणस्तरियताको मापन गरि विदेशबाट आयात हुने सवारी साधनमा नेपालकै गुणस्तरिय उत्पादन प्रयोग गर्नु पर्ने अनिवार्यता लागु गर्नुपर्ने बताए । नेपालको उत्पादनले कुनै क्षति गरेमा त्यसको पूर्ति गरिने कानूनी बाटो खुलेपछि अब विदेशी उत्पादन प्रयोग गरिरहनुको उपदेयता नरहेको समेत उनले प्रष्ट्याए ।