पाँचथर—बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो ।

मालुवा आएको बाढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगरसमेतलाई बगाई बेपत्ता बनाएको थियो । स्थानीयवासी र प्रहरीले खोजी जारी राखेकामा सम्पदाको शव तीन दिनअघि यहाँको शिवा खोलामा फेला परेको थियो । प्रेमको शव सोमबार शिवा खोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यससँगै पाँचथरमा बाढी पहिरोमा परी कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । बाढीपहिरोमा परी अझै तीन बेपत्ता छन् । उनीहरू सबै जिल्लाको मिक्लाजुङ गाउँपालिकाका हुन् । बेपत्ताको खोजीका लागि प्रहरीको तालिमप्राप्त कुकुर झिकाइएको छ । 

तालिमप्राप्त कुकुरसहितको टोली सोमबार मिक्लाजुङ–४ रबि आइपुगेको र आजदेखि खोजी सुरु हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।