विराटनगर — निर्माणाधीन कोसी राजमार्ग, रानी–धरान सडक खण्डअन्तर्गत विराटनगर क्षेत्रमा कालोपत्रे भासिएर डोब बनेको छ । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्रे सडकमा सवारीसाधन गुड्ने चक्काको डोब छुट्टै बनेको हो । विराटनगर भन्सार क्षेत्रदेखि रानी नहरसम्मको तीन किलोमिटर र बरगाछी–ढाटसम्मको कालोपत्रे सडक भत्केको छैन तर पिच भासिएर बनेका ढिस्का हुँदै सवारी गुड्छन् ।

भारत–नेपाल–चीन त्रिदेशीय ‘लाइफलाइन’ वा व्यापारिक मार्गका रूपमा परिचित यो सडकको निर्माण सम्पन्न भएको खण्ड हस्तान्तरण गर्नुअगावै भासिन थालेको हो । निर्माण सम्झौताका आधारमा ठेकेदारले पुनर्निर्माण गर्नुपर्ने प्रावधान रहे पनि छ लेन सडक आयोजना इटहरी मौन देखिएको छ ।

सडकको भारवहन क्षमताभन्दा दोब्बर वजन बोकेका मालवाहक सवारी गुडेका कारण भासिने गरेको आयोजना इटहरीका प्रमुख बद्री शर्मा बताउँछन् । सडक भासिनुमा कमसल निर्माण मात्रै नभई सवारी व्यवस्थापनको पाटोसमेत जोडिएको शर्माको तर्क छ ।

विराटनगर भन्सार क्षेत्रबाट सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा मालवस्तु बोकेर आउने सवारीले सडकको क्षमताभन्दा दोब्बर वजन बोक्ने भए पनि त्यसको नियमन र नियन्त्रण नहुने आयोजनाले जनाएको छ । देशैभर बनेका सडकको भारवहन क्षमता १० टन मात्रै रहे पनि विराटनगरमा भने १६ टनदेखि २० टनसम्मको वजन भएका मालवाहक सवारी गुड्दासमेत ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयले कारबाही नगरेको आरोप छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख चन्द्रबहादुर खड्काले भन्सारबाट मालवस्तु बोकेर छुटेका सवारीलाई १५ किलोमिटर दूरीसम्म हिँड्न दिनू भन्ने गृह मन्त्रालयको परिपत्रका आधारमा छोड्ने गरिएको बताए । गृह मन्त्रालयले २०७५ सालमा परिपत्र गरेको आधारमा अहिलेसम्म मालवहाक सवारीको चेकजाँच नगरिएको उनको भनाइ छ । छ लेन सडकमा पार्किङ निषेध गरिएको बताउँदै खड्काले सर्भिस लेनको अभाव हुँदा ठूला मालवाहक सवारी एउटै लेनमा गुड्नुपर्ने अवस्था आएको तर्क गरे ।

विराटनगर भन्सारका भन्सार अधिकृत अमित तिवारीले फलाम उद्योगका कच्चा बोकेका मालवाहक सवारी हिँड्न बाधा नगर्ने सहमतिका आधारमा भन्सारले छोड्ने गरेको बताए । “फलाम उद्योगका एउटै कच्चा पदार्थ २० टनसम्म हुन्छ,” तिवारीले भने, “त्यसलाई टुक्र्याउन सकिँदैन, उद्योगसम्म निर्बाध रूपमा जान दिने भन्ने सरकारको निर्णय छ । ”

कोसी राजमार्गअन्तर्गत विराटनगर रानी–तरहराको ३४ किलोमिटर दूरीमध्ये ३२ किलोमिटरमा कालोपत्रेको काम सकिएको छ । छ लेन सडक आयोजना इटहरीले रानी–धरानको ४९ किलोमिटर दूरीमध्ये दुहबी बजार क्षेत्रको दुई किलोमिटर र धरान बजार क्षेत्रको पाँच किलोमिटरबाहेक ८० प्रतिशत काम सम्पन्न भएको जानएको छ ।

तरहरा–धरानको १४ किलोमिटरमध्ये नौ किलोमिटरको कामसमेत धमाधम रहेको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो । २०६९/७० देखि सुरु भएको आयोजनाले सात किलोमिटर दूरीको ठेक्का सम्झौता अझै गर्न सकेको छैन । त्यो दुहबी बजार क्षेत्रको २ किलोमिटर र धरान बजार क्षेत्रको पाँच किलोमिटर हो । यदि यो दूरीमा ठेक्का सम्झौता भए आगामी दुई वर्षभित्रमा सबै काम सक्ने आयोजना प्रमुख शर्माको भनाइ छ ।

निर्माणाधीन सडकमा भारवहन क्षमताभन्दा बढी भार बोकेका सवारीको आवागमनको व्यवस्थापनसमेत उचित नभएको बताइन्छ । छ लेन सडकको केन्द्र भागको डिभाइडरबाट दायाँ–बायाँ तीन–तीन लेन विभाजित छ । त्यसमध्ये नालातर्फको एक लेन पार्किङमा प्रयोग गरिएको, त्यसपछि बीचको भागमा साना सवारी गुड्ने गरेको र सडकको केन्द्र भागबाट ठूला मालवाहक लगातार गुड्दा भासिएको शर्माको बुझाइ छ ।

“भारवहन क्षमता गाडीको एक्सलदेखि एक्सलसम्मको १० टन वजन हो,” शर्माले भने,  “२० टन वजन भएका सवारी एउटै लेनमा गुडिरहेपछि भासिन र भत्किने समस्या दोहोरिएको छ । ” उनले यसका लागि सडकको पार्किङ हटाएर साना सवारीलाई गुड्ने क्षेत्र बनाउनुपर्ने, त्यसपछिको क्षेत्रमा ठूला मालवाहकलाई लेन तोकिनुपर्ने बताए


सरकारको १० अर्ब ९८ करोड रुपियाँ लागतमा ४९ किलोमिटर रानी–धरान व्यापारिक मार्गको हाल ४२ किलोमिटरमध्ये ३२ किलोमिटर (रानी–तरहरा) सडक खण्डको कालोपत्रे सकिएको हो । तरहरा–धरान तीनकुनेसम्मको नौ किलोमिटरको काम धमाधम जारी रहेको छ । सुनसरीको दुहबीस्थित बूढीखोलाको पुलसहित सडक निर्माणको काम १५ वटा च्यानेजमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो ।-गोरखापत्रबाट