विराटनगर- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार (आज) प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । नेकपा एमाले विभाजनको दोस्रो दिन गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए । अब, आइतबार दिउँसो साढे १२ बजे बस्ने संसद् बैठकमा मुख्यमन्त्रीको सो प्रस्तावमाथि छलफल हुनेछ । छलफलपछि आजै मत विभाजन पनि हुनेछ । 

मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठक थियो । सो बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि संसदमा प्रस्ताव टेबल गरेका थिए । 

भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने थियो । तर संवैधानिक प्रावधानको आफू अनुकूल ब्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको थियो ।

असोज २४ गतेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले असोज २५ गतेका लागि बैठक बोलाएका थिए । तर प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले २४ गते साँझ नै सूचना जारी गर्दै संसद् बैठक कात्तिक ५ गते शुक्रबारका लागि बैठक तय गरिएको सूचना निकालेका थिए । 

आचार्य गत भदौ १० गते शेरधन राईको स्थानमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री भएकै बेला अल्पमतमा परेका आचार्यले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव असोज २५ गते सचिवालयमा दर्ता गराएका थिए । 

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा दल विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा छ । संसदमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा सत्तारूढ दल एमालेसँग ४१ जना मात्रै सांसद छन् । विपक्षी गठबन्धनमा ५० जना सांसद छन् । केन्द्रीय तहको सहमतिअनुसार प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने अवस्था नरहेका कारण मङ्गलबारसम्म प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउने सम्भावना छ । विपक्षी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी रहेको छ ।

आइतबार विश्वासको मतदानपछि गठबन्धनको तर्फबाट राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिने नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए ।