विराटनगर- प्रदेश १ मा बाढी र पहिरोका कारण पीडित बनेकाको उद्धारमा ७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भीषण वर्षापछिको बाढी, पहिरो र डुबानबाट प्रभावित बनेकाको उद्धारमा नेपाल तथा सशस्त्र प्रहरीका तालिमप्राप्त जनशक्ति परिचालित भएका हुन् । बाढी र पहिरोमा बेपत्ता भएकोको खोजी, मृतकको संख्या यकिन गर्नेदेखि लिएर अवरुद्ध सडक सञ्चालन तथा सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्नेसम्मको काममा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको हो । प्राकृतिक प्रकोपले निम्त्याएको विपत्तिपछिको उद्धारका लागि नेपाल प्रहरीले ५ हजार ९५ जना जनशक्ति परिचालन गरेको छ । सशस्त्र प्रहरीले २ हजारभन्दा बढीलाई बाढी एवं पहिरो प्रभावितको उद्धारमा खटाएको छ ।
नेपाल प्रहरीका प्रदेश १ प्रमुख डीआईजी अरुणकुमार बिसीले उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गर्दै बाढी र पहिरोपछिको उद्धारलाई तीव्र एवं प्रभावकारी पारिएको जानकारी दिए । अझै वर्षा नरोकिएका स्थानहरुमा हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै जोखिम न्यूनीकरणका लागि प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखिएको बिसीको भनाइ छ । सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले अरु सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गर्दै सबै उपाय लगाएर बाढी र पहिरोमा फसेकाको उद्धारलाई तीव्र पारिएको बताए । डीआईजी गिरीका अनुसार डुबानबाट प्रभावित बनेका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर विस्थापित भएका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
प्रहरीको तथ्यांक अनुसार गत सोमबार रातिदेखिको वर्षासँगै आएको बाढी र पहिरोमा परेर हालसम्म प्रदेश १ मा ६२ जनाको मृत्यु भइसकेको छ भने १३ जना बेपत्ता भएका छन् । २० जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोमा परेर पाँचथरमा सबैभन्दा धेरै २८ जनाको मृत्यु भएको छ । १० जना घाइते र ६ जना बेपत्ता छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा यति ठूलो मानवीय क्षति भएको हो ।
त्यस्तै इलामको फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा बाढी एवं पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । पहिरोमा परेर इलाममा ५ जना घाइते र १ जना बेपत्ता भएका छन् । धनकुटाको चौबिसे गाउँपालिकामा ७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा ८ जनाको मृत्यु हुनुका साथै ३ जना बेपत्ता भएका छन् ।
मोरङको विराटनगर महानगरपालिका, भोजपुरको रामप्रसाद राई गाउँपालिका, उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाउँपालिकामा १÷१ जनाको मृत्यु भएको छ । बाढीका कारण सयौं घर डुबानमा परेका छन् । बाढी र पहिरोले कैयौं सर्वसाधारणलाई घरबारविहीन बनाएको छ । प्रहरीका अनुसार बाढी र पहिरोका कारण ४ हजारभन्दा बढी सर्वसाधारण विस्थापित बनेका छन् ।














