विराटनगर-  मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरेको प्रदेश १ को प्रदेशसभा बैठक शुक्रबार दिउँसो बस्दै छ । प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक दिउँसो १ बजे बस्ने भएको हो । मुख्यमन्त्री आचार्यले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव बैठकमा पेस हुने बताइएको छ ।

उक्त प्रस्ताव असोज २५ गते संसद सचिवालयमा दर्ता भएको थियो । आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका हुन । दल विभाजन भएको एक महिनाभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यसबीचमा मुख्यमन्त्री आचार्यले प्रदेश पर्यटन बोर्ड, खेलकुद बोर्ड र सञ्चार प्रतिष्ठानमा नियुक्ति गरीसकेकाछन  । मुख्यमन्त्रीले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव बैठकमा पेस भएपछि छलफलको प्रक्रिया सुरु हुने छ । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले छलफलपछि विश्वासको मतका लागि मतदानको मिति तय गर्ने जनाइएको छ । स्रोतका अनुसार मतदातको मिति केही पर सार्ने तयारी सभामुखको छ ।

बैठकको कार्यसूची तय गर्नका लागि बिहान १०ः३० बजे सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका ेछन । त्यसअघि सत्तारुढ नेकपा एमाले संसदीय दलको बैठक पनि बस्दैछ । गत असोज २४ गतेको बैठकपछि सभामुखले भोलिपल्ट अर्थात असोज २५ गतेका लागि अर्को बैठक बोलाएकाथिए  । तर संसद सचिवालयमार्फत सूचना प्रकाशित गर्दै उनले कात्तिक ५ गते अर्थात आजसम्मलाई बैठक स्थगित गरेकाथिए । विपक्षी गठबन्धनले भने सरकारले आजै विश्वासको मत लिनुपर्ने माग गरिरहेको छ । सरकारको विश्वास संसदमा परीक्षण हुनुपर्ने अडानमा प्रतिपक्षी दलहरु रहेका हुन् । एमाले केन्द्रीय सदस्य एवं प्रदेश १ का पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले शुक्रबारको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव टेवल हुने जानकारी दिए । ‘शुक्रबारको संसद बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव टेवल हुन्छ,’ उनले भने ‘सांसदहरु दसैं मनाएर फर्किनसकेका कारण मतदानको मिति भने केही पर सर्नसक्छ ।’

विपक्षी गठबन्धनले भने शुक्रबार नै मतदान हुनुपर्ने अडान राखेको छ । मतदानको प्रक्रिया शुक्रबारनै टुंग्याउनुपर्ने नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । मतदान भएर विश्वासको मतको छिनोफानो भएपछि नयाँ सरकार गठनको गृहकार्य सुरु हुने उनको भनाइ छ । नेकपा (एकीकृत समाजवादी) अलग भएपछि एमाले नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा परेको छ । पार्टी विभाजनअघि एमालेसँग ५१ सांसद थिए ।

९२ सदस्यीय प्रदेशसभामा एमालेसँग अहिले ४१ जना मात्रै सांसद छन् । संसदमा बहुमत पुर्याउन ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० सांसद छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउन नसकेमा प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ने छ ।