विराटनगर- प्रदेश १ खेलकुद विकास बोर्डले १४ वटै जिल्लाहरुका खेलकुद समितिहरुमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई आज सपथ ग्रहण गराएको छ । सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा वोर्ड उपाध्यक्ष बाबा मेन्याङ्वोले नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई सपथ गराएकाहुन । खेलकुद विकास बोर्डले बुधबार १४ वटै जिल्लामा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको थियो ।

सपथ ग्रहण कार्यक्रममा सामाजिक विकास मन्त्री साम्सोहाङले जिल्ला खेलकुद समितिहरुले पूर्णता पाएसँगै प्रदेश १ को खेलक्षेत्रले फड्को मार्ने बताए  । लामो समय देखि प्रदेश खेलकुद विकास बोर्डले पूर्णता नपाउँदा जिल्लाहरुमा खेलकुदका गतिविधिहरु हुन नसकेको उनले बताए ।

लामो समयदेखि नेतृत्वविहिन खेलकुद समितिहरुमा नयाँ नेतृत्व चयन गरिनु महत्वपूर्ण उपलब्धि भएको खेलकुद विकास बोर्डका सदस्यसचिव पर्शुराम बस्नेतले बताए ।