विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६५ जनामा कोरोना संक्रमण भएको छ । ४०१ जनाको पीसीआर परीक्षण गर्दा ५५ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, मोरङमा १९, सुनसरीमा ११, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा ७, कमल गाउँपालिकामा ५, दमक र मेचीनगरमा ३–३, बाहृदशीमा २, भद्रपुर, कनकाई र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा १४, सुन्दरहरैचा र कानेपोखरीमा २–२, बेलबारीमा १, सुनसरीको इटहरीमा १० र धरानमा १, उदयपुरको चौदण्डीगढी र इलामको माई जोगमाईमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा २२ महिला र ४४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।