विराटनगर– मोरङ धनपालथान–४ कर्सिया बजारमा शाखा रहेको सिटिजन्स बैंक लुटपाटमा संलग्न थप एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारत अररिया फारवेसगञ्ज १० का २० बर्षीय रोशन यादवलाई सुनवर्षी नगरपालिका ८ बाट सोमबार नियन्त्रणमा लिएर प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।

प्रहरीले यसअघि पक्राउ परेका अभियूक्त श्याम मुखियाको डेरा कोठामा खानतलासी गर्दा  एक थान ९ एमएमको पेस्तोल, सो पेस्तोलको एक थान म्याग्जिन र आधा केजी गाँजा बरामद गरिएको प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए । गत असोज २५ गते पौने ४ वजेतिर कर्सिया बजारको विपि चोकमा रहेको सिटिजन्स बैंकमा नगद लुटपाटमा संलग्न ३ जनालाई सोही प्रहरीले पक्राउ गरेको थियो ।

विराटनगर महानगरपालिका ८ का ३२ बर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा ५ का २८ बर्षीय सुनिल यादव र भारत अररिया गोराहा ४ का ३० बर्षीय विजय सहनीलाई बैंक लुटेर भाग्दै गर्दा धनपालथान २ बाट प्रहरीले नियन्त्रणमा लिएको थियो । बैंक लुटपाटमा संलग्न ४ जनाको समूहले असोज २२ गते विराटनगरको एक गार्मेन्टमा पनि लुटपाट गरेको खुलेको छ । कोटेक्स ट्रेडिङ सप्लायर्सका संचालकलाई हातहतियार देखाई नगद १२ हजार लुटेको अनुसन्धानका क्रममा खुलेको डिएसपी श्रेष्ठले बताए ।