पूर्वी तराईका अधिकांश क्षेत्रमा पछिल्लो सात घण्टायता भएको भीषण वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढ्न थालेको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको वहाव बढ्न थालेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरी प्रशासनका विपद् फोकल पर्सन सुधीर साफीका अनुसार दिउँसो १२ बजेसम्म सप्तकासीमा पानीको बहाव प्रतिसेकेन्ड ६३ हजार ६ सय ३० क्युसेक पुगेको छ । उनले खबरपलपललाइ भने, ‘बिहानदेखि नै पानीको बहाव बढ्न थालेको छ । अहिले १३ वटा ढोका खोलिएको छ । नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छौँ ।’
सप्तकोसीमा आज बिहानबाट बहाव निरन्तर बढ्दो क्रममा देखिएको छ । पूर्वी पहाडी भेगमा वर्षा जारी रहेकाले नदीको जलस्तरमा वृद्धि भइरहेको उनले बताए ।















