सोमबार रातिदेखि परेको अविरल वर्षाले धान डुबाइदिएपछि किसान निराश बनेका छन् । आइतबार बेलुकाको हावा पानी र सोमबार रातिबाट परेको अविरल वर्षाले धानखेतीलाई अधिक प्रभाव परेको छ ।

काट्ने बेला भएको मात्र नभई काटेर सुकाइएको धानसमेत वर्षाले सखाप पारिदिएको मोरङको सुन्दरहरैँचा–११ की निर्मला आचार्यको गुनासो छ । १५ कठ्ठामा लगाएको धान वर्षाले डुबाएको बताउँदै उनी भन्छिन्, ‘दसैँछेक नै धान पाकपछि आठ कठ्ठाजतिको धान काटिसकेका थियौँ । जसोतसो पानी पर्दापर्दै धान कुन्यु लगायौँ । अरू बाँकी रहेको धानपनि वर्षा र हुरीले लडाइदिएको छ । अब, वर्षभरि के खाने भन्नेमा अन्यौल छ ।’

सुन्दरहरैँचा नगरपालिकाका कृषि शाखा प्रमुख फणिन्द्र भट्टराई अविरल वर्षाले किसानको धान नष्ट गरेको बताउँछन् । उनका अनुसार प्रदेश १ का विभिन्न स्थानमा काट्ने बेला भएको र काटेको धान निरन्तरको वर्षाका कारण डुबेको छ ।

प्रदेश १ मा ९८ दशमलव ५४ प्रतिशत धान रोपाइँ भएको थियो । निर्देशनालयका अनुसार १४ जिल्लामा तीन लाख ३६ हजार एक सय २२ दशमलब ९७ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।

उच्च पहाडी क्षेत्र अन्तर्गत ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बूमा यसपटक शतप्रतिशत २४ हजार एक सय १३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । त्यसैगरी मध्यपहाडी क्षेत्र अन्तर्गत इलाम, उदयपुर, ओखलढुङ्गा, पाँचथर, खोटाङमा पनि शतप्रतिशत रोपाइँ भएको थियो ।

तराईमा धान रोप्नका लागि दुई लाख २५ हजार आठ सय हेक्टर क्षेत्रफल रहे पनि दुई लाख २३ हजार आठ सय ६७ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । विगतको तुलनामा धानको उब्जनी बढी हुने आँकलन गरिए पनि वर्षाका कारण धानबालीमा ठुलो नोक्सानी पुगेको हो ।