विराटनगर-भारतमा कोइलाको अभावमा थर्मल प्लान्टबाट विद्युतको आपूर्ति बन्द भएपछि विहार सरकारले नेपालबाट अफ आवरमा १२ घण्टा ३५५ मेगावाट विद्युत पैंचो लिन थालेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार दैनिक २००० मेगावाट आवर विद्युत भारतले पैंचोका रुपमा लिन थालेको हो । 

जुन २० लाख युनिट हो । भारतले नेपाललाई विद्युत विक्री गर्दा नेपाली ९ रुपैयाँ ६० पैसाको दरले विक्री गर्छ । २० लाख युनिटको ९ रुपैयाँ ६० पैसाका दरले १ करोड ९२ लाख रुपैया बराबरको विद्युत नेपालले भारतलाई दैनिक १२ घण्टा सापटी अर्थात पैंचो दिइरहेको छ । जुन सुख्खा सिजनमा नेपालमा विद्युतको उत्पादनमा कमी हुदा भारतले विना कुनै शुल्क पैंचो तिरेर आफुले लिएको विद्युत फिर्ता गर्छ । 


नेपाल विद्युत प्राधिकरणका प्रवक्ता एवं भार प्रेषण केन्द्रका प्रमुख शुरेशबहादुर भट्टराईले भारतको विहार राज्यमा विद्युतको माग भएअनुसार पैंचोका रुपमा अधिकतम रक्सौलबाट ८५ मेगावाट, दुहवीबाट १५० मेगावाट, रामनगर ७० मेगावाट र ढल्केबरबाट ५० मेगावाट विद्युत गरि अहिले भारतले ३५५ मेगावाट विद्युत बेलुक ६ बजेदेखी विहान १० बजे सम्म दिइने गरिएको छ । सरदरमा भारतले अहिले २००० मेगावाट आवर विद्यूत नेपालबाट खपत गर्दै आएको छ । कहिले कम र कहिले केही बेसी लिने गरेको छ । तर यी सबै विद्युत स्टेशनबाट भारतले विद्यूत पैंचोमा लिएको हो । नेपाल विद्युत प्राधिकरणले सुख्खा मौसममा दिएको विद्युत फिर्ता लिएर यहाको लोडसेडिङमा राहत प्रदान गर्दै आएको छ । 

भारतले नेपाललाई विद्यूत विक्री गर्दा प्रति यूनिट ६ रुपैया भारतीय रुपैया लिदै आएको छ । जुन नेपाली ९ रुपैयाँ ६० पैसा हुन आउछ । त्यसैलाई आधार मानेर अहिले नेपालले सापटी स्वरुप दिदै आएको विद्युतको रकममा रुपान्तरण गर्ने हो भने १ करोड ९२ लाख बराबरको विद्युत भारतलाई दैनिक पैंचो दिदै आएको छ । 

प्रवक्ता भट्टराईका अनुसार भारत सरकारको उर्जा मन्त्रालयमा नेपालबाट विद्युत खरिद गर्ने बिषयमा आधिकारीक निणर्य नभएको कारण विद्युत सापटीका रुपमा प्रयोग भइरहेको तर विक्रीको सम्झौता हुनासाथ नेपालले भारतलाई विद्युत सापटी नभएर आधिकारीक रुपमानै विक्री थाल्ने छ । भारतमा विद्युतको अभाव चुलिएकाले चाडैनै भारतको उर्जा मन्त्रालयले विद्यूत खरिद गर्ने बिषयको सम्झौता नेपाल सरकारसंग गर्ने उनले खुलाए । 

नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रीडका प्रमुख राजेश रेग्मीले दुहवीबाट भारतको कटैया पावर हाउस र रुपनी कुसाश हुदै भारतको कटैया पावर हाउसलाई बेलुका ६ बजेदेखी विहान १० बजे सम्म अधिकतम १५० मेगावाट विद्युत दिइरहेको बताए । उनले सुख्खा मौसम सुरु भएपछि भारतको कटैयाबाट प्रदेश १ को विद्युतको माग पुरा गर्न पुनः सापटी फिर्ता विद्युत लिइने र हिसाब मिलान गरिने जानकारी दिए । भारतसंग विद्युत व्यापारको सम्झौता भइ नसकेकाले अहिले एक अर्काको देशलाई खाचो पर्दा विजुली सापटी दिने गरिएको हो । 

रेग्मीमा अनुसार अपर तामाकोशीबाट ढल्केबर, रुपनी हुदै दुहवी आउने १३२ केभी प्रशारण मार्फत भारतको कटैया पावर हाउसलाई १५० मेगावाट सम्म विद्युत एक्सपोर्ट गरिदै आएको छ । केही महिना अघि सम्म साताको तीन दिन मात्र विद्युत लिदै आएको भारतको कटैया पावर हाउसले अहिले दैनिक रुपमा १२ घण्टा विद्युत लिइरहेको छ । 

प्रदेश नम्बर १ को विद्युतको माग दुहवी ग्रीडमा १५९ मेगावाट, अनारमनीमा ५२ र दमक सब स्टेशनमा ३२ मेगावाट गरि दैनिक प्रदेश १ मा विद्युतको माग २ सय ४३ मेगावाट छ । तर मौसम अनुसार यो मागमा तलमाथि हुने गरेको छ । पछिल्लो समय कावेली करिडोरको १६० मेगावाट विद्युत ग्रिडमा जोडिएपछि अहिले प्रदेश १ मा अफ आवरमा विद्युतको खपत उत्पादन भन्दा कम भएकाले भारतलाई पैंचोका रुपमा अफ आवरमा १५० मेगावाट दिन थालिएको हो ।