विराटनगर-मुलुकको तेश्रो प्रमुख नाकाको रुपमा रहेको विराटनगर भन्सार कार्यालयबाट प्रत्येक बर्ष आयातमा बृद्धि हुदै गएको छ भने आयातको तुलनामा निर्यात निकै कम रहेको छ । अन्य भन्सारको तुलनामा विराटनगर भन्सार नाकाको ब्यापारघाटा कम रहेपनि आर्थिक बर्ष २०७७/०७८ मा ८३ दशमलव ७१ प्रतिशत अर्थात १ खर्ब ८९ अर्ब ६५ करोड ६८ लाख १६ हजारको सामान आयात भयो  । त्यस्तै निकासी तर्फ १६ दशमलव २९ प्रतिशत अर्थात ३६ अर्ब ९० करोड ६७ लाख ३० हजार रुपैयाँको  बस्तु निर्यात भयो । यो आवमा १ खर्ब ५२ अर्ब ७५ करोड ८६ हजार व्यापार घाटा रहेको तथ्यांकले देखाएको छ ।  

कोरोनाको कारण लक्ष्यभन्दा कम राजश्व संकलन गरिरहेको विराटनगर भन्सार कार्यालयले साउन र भदौमा भने लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । आयातको तुलनामा निर्यात निकै कम भएपनि निर्यातमा भने प्रत्येक बर्ष केही सुधार हुदै गएको देखिएको छ । कोरोना महामारीको कारण आर्थिक बर्ष २०७६/०७७मा आयात र निर्यात दुबैमा निकै गिरावट आएको देखिएको छ । 

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव भण्डारीले कोरोनाको कारण उद्योग व्यवसाय बन्द भएका कारण आव २०७६/०७७ मा विराटनगर भन्सार कार्यालयले कम राजश्व संकलन गरेको तर अहिले अवस्था सामान्य हुदै गएकाले भन्सारले लक्षभन्दा बढी राजश्व संकलन गरिरहेको बताए । विराटनगर भन्सार कार्यालयले चालु आवको साउन महिनामा ३ अर्ब ३४ करोड ९६ लाख ९८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जुन लक्षभन्दा ११५ दशमलव ८२ प्रतिशत हो । त्यसैगरि भदौ महिनामा ३ अर्ब ८६ करोड ९७ लाख १३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ जुन लक्ष भन्दा १०० दशमलव १३ प्रतिशत हो । 

आर्थिक बर्ष २०७६/०७७ मा १ खर्ब ३२ अर्ब ६ करोड ८२ लाख ५५ हजारको विभिन्न सामाग्री आयात भएको थियो जुन ८२ दशमलव २४ प्रतिशत हो भने २८ अर्ब ५१ करोड ३१ लाख २१ हजार रुपैया बराबरको सामाग्री निर्यात भएको थियो जुन १७ दशमलव ७६ प्रतिशत हो । यो अघिल्लो आर्थिक बर्ष र पछिल्लो आवको भन्दा न्यून आयात र निर्यात हो । यो आवमा १ खर्ब तीन अर्ब ५५ करोड ५१ लाख ३४ हजारको व्यापार घाटा भएको छ । 

आव २०७५/०७६ मा विराटनगर भन्सार कार्यालयबाट १ खर्ब ७६ अर्ब ५६ करोड ६२ लाख ८४ हजारको सामान आयात भयो जुन ८५ दशमलव ८२ प्रतिशत हो भने २९ अर्ब १७ करोड ६७ लाख १८ हजार निर्यात भयो जुन १४ दशमलव १८ प्रतिशत हो  । यो आवमा १ खर्ब ४७ अर्ब ३८ करोड ९५ लाख ६६ हजार रुपैया व्यापार घाटा भएको देखिन्छ । 

निर्यातमुखि अर्थतन्त्र नहुनु र आयातमा निर्भर हुदा प्रत्येक बर्ष व्यापार घाटाको ग्राफ उकालो लागेको देखिन्छ । तर कोरोनाको प्रभाव वाहेकका आर्थिक बर्षमा भने विराटनगर नाकाबाट निर्यात पनि न्यून मात्रामा बढीरहेको तथ्यांकले देखाएको छ । 

आर्थिक बर्ष ०७५/७६मा २९ अर्ब १७ करोड ६७ लाख १८ हजार निर्यात भएको तथ्यांक छ तर आव ०७६/०७७ मा भने कोरोनाको विश्वव्यापी महामारीको कारण निर्यात हुने बस्तुमा समेत त्यसले असर गरेको छ । यो आवमा  २८ अर्ब ५१ करोड ३१ लाख २१ हजार रुपैया बराबरको सामाग्री निर्यात भएको छ जुन अघिल्लो आर्थिक बर्ष भन्दा ६६ करोड ३५ लाख ९७ हजार रुपैयाँ कमको बस्तु निकासी भएको हो । तर आव २०७७/०७८ मा २८ अर्ब ५१ करोड ३१ लाख २१ हजार रुपैया बराबरको सामाग्री निर्यात भएको छ जुन अघिल्लो आवको तुलनामा ८३ अर्ब ९३ करोड ६० लाख ९ हजारले निर्यात बढेको तथ्यांकले देखाएको छ । 

आर्थिक बर्ष २०७६/०७७ मा अघिल्लो बर्ष भन्दा ४४ अर्ब ४९ करोड ८० लाख २९ हजार रुपैया बराबरको सामाग्री कम आयात भएको छ तर आव ०७७/०७८ मा भने अघिल्लो बर्षको तुलनामा ७५ अर्ब ५८ करोड ८५ लाख ६१ हजार रुपैयाँ बढीको सामाग्री आयात भएको देखिन्छ । जुन अघिल्लो बर्षको तुलनामा ७५ अर्ब ५८ करोड ८५ लाख ६१ हजार रुपैयाँ बढी ब्यापार घाटा हो । 

प्रत्येक बर्ष १ खर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरिरहेको विराटनगर भन्सार कार्यालयले आर्थिक बर्ष २०७५/०७६ मा ३८ अर्ब ९३ करोड ४५ लाख ८७ हजार राजश्व संकलन गरेको छ । त्यसैगरि आर्थिक बर्ष २०७६/०७७ मा २८ अर्ब ९९ करोड ९४ लाख ७४ हजार र आव ०७७/०७८ मा ४० अर्ब ७४ करोड ४१ लाख ४७ हजार राजश्व संकलन गरेको छ । 

विराटनगर भन्सार नाका हुदै नेपाल आयात हुने प्रमुख १० बस्तुहरुमा भटमासनको कच्चा तेल, एमएस ब्लेड, पोलिथिन दाना, स्टिल वायर रड इन क्वाइल, तयारी कपडा, सूर्यमुखी कच्चा तेल, खाद्यान्न मकै, सिआरसीट, खाना पकाउने एलपीग्यास र औद्योगिक मेशिनरि छन । 

त्यसैगरि नेपालबाट विराटनगर भन्सार नाका हुदै निकासी हुने प्रमुख १० बस्तुमा भटमासको प्रशोधित तेल, सेन्थेटिक यार्न, जुटका बुनिएका कपडा, जुटका बोरा र झोला, कपडा(उनी, सुति, टेरिकटन बाहेक), चाउचाउ, नुडल्स, पास्ता त्यस्तै तेल पेलाई सकेपछि निस्कने पिना, सनपाटको धागो, सूर्यमुखी प्रशोधित तेल र तामाको सिट, चादर र स्ट्रिपले सबैभन्दा बढी निकासी हुने १० बस्तुमा स्थान लिएका छन ।