विराटनगर- मोरङको धनपालथान ४ कर्सिया बजारमा शाखा रहेको सिटिजन्स बैंक लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा विराटनगर ८ का ३२ बर्षीय  श्याम मुखिया,  भारत अररिया सेखपुरा ५ का २८ बर्षीय सुनिल यादव र भारत अररिया गोराहा ४ का ३० बर्षीय बिजय सहनी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए  ।

डिएसपी श्रेष्ठका अनुसार बैंक लुटेर को २५ प ३८९९ नम्वरको मोटरसाईलमा भाग्ने क्रममा तीनै जनालाई धनपालथान २ खयरवनाबाट हतियार सहित नियन्त्रणमा लिईएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न अन्य ६ जना रहेको देखिएकाले खोजी भईरहेको डिएसपी श्रेष्ठले बताए । उनका अनुसार पक्राउ परेकाहरुको साथबाट को २५ प ३८९९ नम्बर मोटरसाईकल, लुटपाटमा संलग्न सुनिल यादवले प्रयोग गरेको (१ राउण्ड लोडेड गोली सहित) १ थान कटुवा पेस्तोल, घटनास्थलमा पेस्तोलको नपड्किएको राउण्ड १ थान, खोका १ थान, घाइते गार्ड शितल कुमालको शरिरबाटवाट निकालिएको गोली १ थान रहेको छ । गत सोमबार पौने ४ वजेतिर ७ जनाको अपरिचित समूह बैंक भित्र पस्ने क्रममा बैंकका गार्ड मोरङ रंगेली २ का ४० बर्षीय कुमाललाई २ जना ब्यक्तिले गार्डसँग भएको खुकुरी खोसी गोली प्रहार गरेका थिए ।

दाहिने पातामा गोली लागेर घाइते भएका कुमालको न्यूरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ । बैंकले २१ लाख भन्दा बढी रकम लुटिएको बताएको छ । बैंकले प्रारम्भिक रुपमा रु २१ लाख ७० हजार लुटपाट भएको जनाए पनि लिखित रुपमा  अहिलेसम्म विवरण नपठाएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

मुख्य योजनाकारका रुपमा रहेका मुखिया होजियारी उद्योग संचालन गर्ने गरेका र चाँडै पैसा कमाउने उनको उद्देश्य  थियो भने सहनी र यादव भारतका पेशेवर अपराधी रहेका छन ।  जहरु उपर हातहियार  खरखजना, डकैती, संगठित अपराध तथा ज्यानमार्ने  उद्योग गरी चारबटा मुद्धा दर्ता गरिने प्रहरीले जनाएको छ ।