विराटनगर - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवा र सर्वाेच्च अदालतका प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको मिलेमतोका कारण लोकतन्त्र धरापमा परेको आरोप लगाएका छन् ।

गृह जिल्ला मोरङ आएका नेता कोइरालाले सोमबार सुन्दरहरैंचा नगर मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन एवम् शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै  लोकतन्त्रका लागि लडेको पार्टीका सभापतिले शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु लोकतन्त्रमाथि गम्भीर प्रहार भएको बताए ।“

प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमत्तोले लोकतन्त्र संकटमा र्पयो, लोकतन्त्रका लागि लामो संघर्ष लडेको पार्टी नेपाली कांग्रेसको वर्तमान सभापतिले शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनुभयो,” उनले भने ।सरकार बनेको ८८ दिनमा विस्तार भएको मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले प्रधानन्यायधीशलाई कोटा दिएको चर्चा छ ।

प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको आरोप लागेका उद्योगमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिइसकेका छन् ।नेता कोइरालाले प्रधानमन्त्रीको अलोकतान्त्रिक हर्कतले पार्टीलाई कमजोर बनाएको बताए ।