विराटनगर-कोभिड १९ को महामारी भन्दा पहिलेका बर्षहरुमा दशैं छुट्टी मनाउन सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरु विदेश तिर उडिसकेका हुन्थे । दशैं अघि नै आफुले घुम्नेदेशको तालिक तयार गरेर दशैंको छुट्टी सुरुहुना साथ यात्रामा निस्कन्थे । तर कोभिड १९ को कारण यो पटकको दशैंमा भने उद्योगीहरुले विदेशको यात्रा नगर्ने भएका छन । स्वदेशमै परिवारसंग बसेर मिठो परिकार खाने र आन्तरिक पर्यटनको प्रवद्धनका लागि मुलुक भित्रकै पर्यटकीय स्थानमा गएर परिवारसंग रमाउने योजना बनाएका छन । 

नेपाल उद्योग बाणीज्य महासंघका केन्द्रिय सदस्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र राउत घर परिवारसंग बसेर रमाईलो गरेर नै दशैं मनाउने योजनामा छन । अघिल्ला बर्षहरुमा बाबुआमासंग आशिर्वाद लिएर मनाउने गरेपनि बाबुआमा स्वर्ग भएपछि छोराबुहार र परिवारका अन्य सदस्यहरुसंग दशैं मनाउने अनि मुलुक भित्रकै पर्यटकीय क्षेत्रमा घुमघाम गर्ने योजना बनाएका छन । घरमा घटस्थापना गरेर वडा दशैंमा दुर्गा माताको उपासना गर्ने पुरानो परम्परालाई निरन्तरता दिन पनि आफु बैदेशिक भ्रमणमा कहिले पनि जाने नगरेको उनले बताए । स्वदेशमै बसेर चाडवाड मनाउने गरेको खुलाए ।  


नेपाल उद्योग परिसंघका प्रदेश १ का अध्यक्ष भीम घिमिरे यो पटक परिवार सहित सुनसरीको चक्रघट्टीमा रहेको आफ्नो गाउँको घरमा गएर पुराना साथीभाई भेटघाट गरि दशैं मनाउने योजनामा छन । अघिल्ला बर्षहरुमा उनी अमेरिका लगायतका मुलुक घुमेर दशैंको विदाको सदुपयोग गर्थे भने यो पटक आन्तिरिक पर्यटनको विकासका लागि घुमघाम गर्ने योजनामा छन । फुर्सदमा भान्सामा पसेर मिठो परिकार पकाउने सौख भएका उनी यो पटक घर परिवारलाई नयाँ नयाँ परिकार बनाएर खुवाउने योजनामा रहेका छन । 

मोरङ ब्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा यस अघि दशैंको लामो छुट्टीमा विदेश तिर घुमघाममा रमाउथे । तर यसपाली कोरोनाको कहरका कारणले उनले नेपालमै विराटनगर र काठमाडौंमा परिवारसंग बसेर दशैं मनाउने योजना बनाएका छन । नवरात्रीको सुरुआतमा घरमा घटस्थापना गरेर परिवार सहित दैनिक माता दुर्गाको उपसना गर्ने र दशमीको दिन दुर्गा विसर्जन गरि परिवारका साथ रमाइलो गर्ने योजना उनको छ । मुन्दडा यो पटक परिवारका साथ ताप्लेजुङमा रहेको पाथीभरा माताको मन्दिरमा दर्शन गर्न जाने योजनामा छन । 

त्यस्तै उद्योग संगठन मोरङका अध्यक्ष सुयसराज प्याकुरेलले यो पटकको आफ्नो दशैं छुट्टिलाई पोखरा घान्द्रक लगायतका पर्यटकीय क्षेत्रमा गएर पैदल यात्रा गर्ने योजना बनाएका छन । उनले बाहिरबाट आफ्नो माइलोभाई शिरज प्याकुरेल समेत दशैैं मनाउन अघिल्ला बर्षहरुमा झै आउने भएकाले परिवारका अन्य सदस्यहरु सहित नेपाल भित्रकै पर्यटकीय क्षेत्रहरु घुम्ने र अवलोकन गर्ने योजना बनाएका छन । आफ्ना नानीबाबुहरु समेतलाई पर्यटकीय क्षेत्रहरुको बारेमा ग्रामीण परिवेशको बारेमा जानकारी गराउने उद्येस्य उनले राखेका छन । भन्छन‘कोभिडको कहर सकिएको छैन, पर्यटकीय क्षेत्र थला परेको अवस्थामा कम्तिमा आन्तरिक रुपमा गरिने घुमघामले पनि पर्यटन क्षेत्रलाई थोरै भएपनि राहत हुन्छ, त्यसैले सबैले यो दशैंमा परिवार सहित आन्तरिक पर्यटन गरौं ।’

विराट ब्यापार संघका अध्यक्ष सुजन थापा भर्खरै भारत भ्रमण सकेर आएका हुन । उनी पनि यो पटक आफ्नै घर परिवारसंग दशैं मनाउने योजनामा छन । परिवारसंग रमाइलो गर्ने र घर परिवारसंग नै यो पटकको दशैं मनाउने योजना रहेको उनले सुनाए । कोरोनाको कारण सबैमा एक किसिमको त्रास व्यप्त रहेको र केही समय देखी नेपालमा कोरोनाको प्रभाव घटिरहेकाले सजग हुदै दशैं मनाउने उनले सबैलाई आग्रह समेत गरे ।