विराटनगर- सबैको सहमतिमा गठबन्धन दलको प्रतिनिधित्व हुने मन्त्रीमण्डल बनेको रक्षामन्त्री डा. मीनेन्द्र रिजालले बताएका छन् । मन्त्रीमण्डल गठन र भागबन्डाको विषयमा बाहिर आएको कुराहरूमा कुनै सत्यता नभएको रक्षामन्त्री रिजालले बताए । सबैको प्रतिनिधित्व हुने मन्त्रीमण्डल बनेको उनले दोर्होयाए ।
रक्षामन्त्री भएपछि पहिलो पटा शनिबार विराटनगर आएका रिजालले विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दे मुलुकको राजनीतिक परिस्थितिका कारण मन्त्रीमण्डल विस्तारमा केही ढिलाइ भएकाले त्यसलाई अन्यथा लिन नहुने बताए । राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा आफूले पनि काम गरिसकेको हुँदा राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहने रिजालको भनाई थियो । उनले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताए ।
मन्त्री डा. रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च रहेको बताउँदै राष्ट्रिय विपत्तिमा नेपाली सेनाले अग्रभागमा रहेर उच्चकोटीको काम गरेको जानकारी दिए । नेपाली सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको उल्लेख गर्दै उनले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने दृढता व्यक्त गरे ।
मन्त्री डा. रिजालले नेपालको संविधानले वाक र प्रेस स्वतन्त्रता दिएकाले कसले के कुरा गर्छ र लेख्छ भन्दा पनि सरकार भर्खरै विस्तार भएकोले आफ्ना काममा मात्रै ध्यान दिने र गति लिने बताए ।














