पाँचथर — उपचाररत बालिकाको निधन भएपछि जिल्ला अस्पताल पाँचथरमा तोडफोड भएको छ । स्वास्थ्यकर्मीको लापरबाहीको कारण बालिकाको निधन भएको भन्दै आक्रोशित बनेको भिडले अस्पतालमा ढुङ्गामुढा गरेको हो । ढुङ्गामुढा प्रहारबाट अस्पतालमा क्षति पुगेको छ । अस्पताललाई जोगाउन प्रहरीले लाठी चार्ज गरेको छ ।
उपचारकाक्रममा पाँचथर फालेलुङ गाउँपालिका ८ घर भई फिदिम २ पल्लोटारमा बसोबास गर्दै आएका कमल थाम्सुहाङ की तीन वर्षीय छोरी कृष्टिनाको बुधवार बिहान निधन भएको थियो ।
जिल्लाका सुरक्षा प्रमुखहरूले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै सार्वजनिक सम्पत्तिमाथि तोडफोड गर्नेलाई कानुन अनुसार कारबाही गरिने बताइएको छ ।
मृतक परिवारका आफन्तले तोडफोडमा कुनै संलग्नता नभएको विज्ञप्तिमा दाबी गरेका छन् । राउन्डमा आएका स्वास्थ्यकर्मीले बिहानको औषधीको मात्रा लगाए पश्चात् बालिकाको निधन भएकोले चिकित्सकको लापरबाही भएको मृतक बालिकाका आफन्तहरूको गुनासो छ ।
बालिकाको निधन कसरी भयो भनेर अनुसन्धान भइरहेको र चलाएको औषधी गलत नभएको अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर वरुण अग्रवालले जानकारी दिए ।















