विराटनगर- सुनसरीको इटहरीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा गय राति दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ६७४७ नम्बरको स्कुटरलाई पूर्वतर्फ आउँदै गरेको ६ ख ५६८१ नम्बरको ट्रकले इटहरी उपमहानगरपालिका–१७ लायन्स चोकमा राति ११ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर स्कुटरमा सवार सुनसरीको इनरुवा नगरपालिका–२ का २५ वर्षीय सुशान्त भट्टराई र संखुुवासभाको चिचिला गाउँपालिका घर भइ हाल सुनसरी टेक्निकल कलेजमा अध्ययनरत २० वर्षीय विभिषण सुनारको मृत्यु भएको हो । प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाका अनुसार स्कुटर कसले चलाएको थियोभन्ने बारेमा खुल्न सकिरहेको छैन ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको खतिवडाले बताए । प्रहरीले ट्रक र चालक मकवानपुरको हेटौँडा–९ का ३१ वर्षीय अर्जुन गिरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । स्कुटर चालकको लापरबाहीका लागि दुर्घटना भएको प्रहरीले जनाएको छ ।