विराटनगर- मोरङको पथरीशनिश्चरेमा दिनदहाडै आक्रमण गरेर एक जना वृद्धा महिलाले लगाएका सुनका गहना लुटपाट गरिएको छ । प्रहरीका अनुसार लुटपाटमा संलग्न आक्रमणकारीको पहिचान खुल्न सकिरहेको छैन । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मरणसन्न हुने गरी कुटपिट गर्दै पथरीशनिश्चरे नगरपालिका–३ ढकाल चोककी ७५ वर्षीया हर्कमाया दङ्गालले लगाएका सुनका गहना लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बुधबार दिउँसो ४ः३० बजेतिर अनुहार तथा शरीरबाट रगत बगिरहेको र अचेत भएर लडिरहेको अवस्थामा घरबाट दुई सय मिटर पर स्थानीय र परिवारका सदस्यले वृद्धालाई देखेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी घरबाट गाईवस्तुलाई घाँस र पानी दिन गएको खुलेको छ । वृद्धाले नाक र कानमा लगाएका गहना आक्रमणकारीले लिएर गएको हुनसक्ने प्रहरीको भनाइ छ । डीएसपी श्रेष्ठका अनुसार एक तोलाजतिको सुनका गहना लगेको खुलेको छ । घटनाको प्रकृति हेर्दा लुटपाटको उदेश्यले आक्रमण गरिएको उनँको भनाइ छ । श्रेष्ठका अनुसार आँखा, निधार नाक, मुख, टाउको लगायत शरीरका विभिन्न भागमा चोट रहेको र रगत बगिरहेको अवस्थामा वृद्धालाई उद्धार गर्दै उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ ।

गम्भीर अवस्थाकी वृद्धाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकले टाउकोमा रगत जमेको जानकारी गराएका छन् । ‘आक्रमण गरेर गम्भीर घाइते बनाउँदै वृद्धाले लगाएका सुनका गहना लुटपाट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ डीएसपी श्रेष्ठले भन्नु भयो, ‘बेहोस भएर लडिरहेको देखेपछि घटनास्थलबाट उद्धार गरेर उपचारका लागि ल्याइएकी वृद्धाको अवस्था चिन्ताजनक छ ।’ घटनामा संलग्नको पहिचान हुन बाँकी रहेको उनले बताए । यद्यपि केही शङ्कास्पद व्यक्तिहरुमाथि भने प्रहरीले निगरानी बढाएको उनँको भनाइ छ । श्रेष्ठले आक्रमणकारीको खोजी गर्दै घटनाको अनुसन्धान थालिएको जानकारी दिए ।