विराटनगर- प्रदेश १ सरकारले नयाँ र सुविधा सम्पन्न प्रदेशसभा भवन निर्माण गरेको छ । २ करोड ५९ लाख २० हजार रूपैयाँको लागतमा नयाँ भवन निर्माण गरिएको हो । मुख्यमन्त्री भीम आचार्यले बुधबार उद्घाटन गरेका भवनबाटै अब प्रदेशसभा बैठक सञ्चालन हुने छ ।
प्रदेशसभाको यो अस्थायी संरचना हो । निर्माणको सम्झौता भएको १ वर्षपछि भवन बनाएर निर्माण कम्पनीले हस्तान्तरण गर्यो । अस्थायी भवन निर्माणको जिम्मा स्वामी नारायण निर्माण सेवाले लिएको थियो । भवनको छानो फाइबरको छ । केही समयअघि परेको असिना पानीले छानो फुटेको थियो । त्यसपछि मर्मत सम्भार पनि गरियो । प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले छाना फुटे पनि निर्माणकै क्रममा रहेका कारण ठेकेदार कम्पनीले मर्मत सम्भार गरेको जानकारी दिए । ‘
नयाँ प्रविधिको प्रयोग गरेर भवन बनाइएको छ,’ उनले भने ‘अहिले फाइबरको रहेको छानोमा आवश्यक परेमा पछि कर्कटपाता लगाउन सकिन्छ ।’ प्रदेशसभाको भवन निर्माण गरिए पनि शौचालय भने छैन । शौचालयका लागि प्रदेशसभा सचिवालयकै भवन पुग्नुपर्ने हुन्छ । भवन निर्माण गर्दा आन्तरिक सजावट र फर्निचरका लागि ५० लाख ९७ हजार ४ सय १२ रूपैयाँ खर्च भएको जानकारी पराजुलीले दिनु भयो । उहाँका अनुसार फर्निचरका लागि १६ लाख ४३ हजार, माइक एवं साउन्ड सिस्टम जडानमा १६ लाख ७७ हजार र आन्तरिक सजावटमा १७ लाख ७६ हजार रूपैयाँ खर्च भयो ।














