विराटनगर-  प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दलहरुबीचको झगडा र लडाइँ अन्त्य हुनुपर्नेमा जोड दिएका छन । निर्वाचनसम्म संयुक्त सरकार बनाएर अघि बढ्न उनले दलहरुलाई प्रस्ताव गरेकाछन । प्रदेश १ को नवनिर्मित प्रदेशसभा भवनको उद्घाटन गर्दै बुधबार आचार्यले लडाइँ र झगडा नगरिकन सहमति सरकार बनेर अघि बढ्न सबैमा आह्वान गरे । ‘लडाइँ, झगडा र तछाडमछाड त्यागौँ ।

आउनुहोस् सबै मिलेर सहमतिको सरकार बनाएर अघि बढौँ,’ उनँले भने, ‘दसैंमा मासु खाएर ठण्डा दिमागले सोच्नुहोस् । दसैंपछि राम्ररी सल्लाह गरेर संसदमा निष्कर्ष निकालौंला ।’ आचार्यले संविधान अनुसार नै विश्वासको मत लिने बताउँदै सरकारले संविधान नमिच्ने पनि स्पष्ट पारे। ‘अब राजनीतिका नाममा कुनै लडाइँ झगडा, शब्दका तुच्छ वाण जरुरी छैन । संविधान अनुसार यो सरकारले विश्वासको मत लिन्छ,’ उनले भने ‘२–४ दिन तलमाथि भए पनि सरकारले संविधान मिच्दैन ।’ २०७४ सालको निर्वाचनको परिणाम मंसिरमा आए पनि सरकार परिवर्तन गर्न फागुनसम्म कुर्नु परेको उनले उल्लेख गरे । प्रदेश सरकारले विश्वासको मत संविधान अनुसार नै लिने भएकाले यसमा कुनै शंका गर्न आवश्यक नरहेको आचार्यको भनाइ छ । लडाइँ र झगडा छाडेर धेरै काम गर्नुपर्ने बताउँदै उनले राष्ट्र निर्माण गर्ने सबैको साझा अभियानमा समाहित भएर सहमतिको सरकार बनाउन आग्रह गरे । कार्यक्रममा विपक्षी दलका नेताहरुले मुख्यमन्त्रीको राजीनामा मागेका थिए  ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोले आचार्यले नैतिकता देखाउन र संविधान अनुसार चल्न आग्रह गरे । सरकार अल्पमतमा परेको बताउँदै उनँले संविधान र कानुनभन्दा नैतिकताअगाडि हुने भएकाले  मार्गप्रशस्त गर्न आग्रह गरे । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईले कानुन मिचेर सरकार नचल्ने उल्लेख गर्दै असोज २४ गतेभित्र मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताए । ‘अल्पमतमा छुँ भन्ने जान्दा जान्दै मुख्यमन्त्री नियुक्त हुनु नैतिकता विपरीतको काम हो,’ उनले भने, ‘त्यही भएकाले बेलैमा मार्ग प्रशस्त गरिदिन आग्रह गर्छौँ ।’

९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ४१ सांसद छन् । एमाले सचिव आचार्य भदौ १० गते प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदा एमालेमा ५१ सांसद थिए । तर पछि एमालेबाट फुटेर नयाँ दल नेकपा (एकीकृत समाजवादी) बनेपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमालेका १० सांसद समाजवादीतिर गएका छन् । कांग्रेस, नेकपा (माओवादी केन्द्र), समाजवादीसमेतको विपक्षी गठबन्धनमा ५० सांसद रहेको दाबी गरिएको छ ।

सहमतिको सरकार बनाएर अघि बढौँ ः मुख्यमन्त्री आचार्य