विराटनगर- मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दामा ८ जनालाई जिल्ला अदालत मोरङले दोषी ठहर गरेको छ । कर्तव्य ज्यान मुद्दामा न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार ८ जना प्रतिवादीलाई दोषी ठहर गर्दै भिन्दाभिन्दै सजाय तोकेको छ । प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

एक जनालाई ३ वर्ष र अर्का एक जनालाई ६ महिना कैद सजायको फैसला भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए । उनका अनुसार गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो । उनीहरुले २० वर्ष जेल बस्नुपर्ने हुन्छ । अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेको कसूर कायम भएको छ । धमलाका अनुसार यसको सजाय निर्धारणका लागि पुनः पेस गरिने छ । मुद्दाका प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदन घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए ।

मुद्दामा दोषी ठहर भएकाहरु गोरेको समूहका सहयोगी र उनका सवारी चालकहरु हुन् । मुद्दामा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । प्रतिवादीमध्ये उच्च प्रहरी अधिकारी र गोरेकी पत्नी नीरु भानिने नर्वदा खरेलसहित ४८ जनाले सफाइ पाएको जानकारी राणाले दिए । मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डीएसपीहरु सञ्जयबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल लगायतका प्रहरी कर्मचारीलाई प्रतिवादी बनाइएको थियो । संगठित अपराध, भन्सार ऐन र अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दामा ४८ जनाले सफाइ पाएका छन् । फरार रहेका २१ जनाको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार राणाले बताए ।

उनका अनुसार दुई वर्षसम्म अभियुक्त पक्राउ नपरेमा वा हाजिर नभएमा मुल्तवीमा रहेको मुद्दालाई जगाएर अदालतले फैसला गर्ने छ । २०७४ साल माघ ९ गते गोरेको समूहले दुबईबाट तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाइएको थियो । सुन गायब बनाएको आरोपमा गोरेसहित उनको समूहले २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरेको हो । हत्या गरिएको भोलिपल्ट विराटनगरबाट शाक्यको शव बरामद गर्दा बा १२ च ५९६३ नम्बरको स्कोरपिओ र मे १ च ५३९८ नम्बरको कारसहित प्रहरीले चालकहरु मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गर्यो । त्यो घटनाको अनुसन्धान गर्दा गोरेको योजना र ‘सेटिङ’ तथा अरु व्यापारीको लगानी र प्रहरी अधिकारीको सहयोगमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्वीन्टल सुन तस्करी भएको खुलेको हो ।

तर तस्करीको सुन भने बरामद हुन सकेन । प्रमाणका रुपमा पेस गर्नुपर्ने सुन बरामद नभएपछि तस्करीमा संलग्न भनिएकाहरुले मुद्दामा सफाइ पाएको बताइएको छ । जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो । सरकारी वकिल कार्यालय मोरङले दर्ता गरेको मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको थियो । त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा दर्ता गरिएको हो । मुद्दाको अन्तिम सुनुवाइ अघिल्लो आइतबारबाट सुरु भएको थियो । सुनुवाइका क्रममा कानुन व्यवसायीको बहस सकिएपछि मुद्दामा फैसला भएको हो ।

वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबू पोखरेलले बहस गरेकाथिए । बहुचर्चित यस घटनाको छानबिनका लागि सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा समिति गठन गरेको थियो । समितिले गरेको छानबिन र प्रहरीको अनुसन्धानमा गोरे मुख्य नाइके रहेर दुबईबाट नेपालतिर हुँदै आएको भनिएको सुन तस्करी प्रकरणमा पूर्वदेखि बहालवाला प्रहरी अधिकारी र धनाड्य व्यापारीसमेत मुछिएका थिए ।