विराटनगर– विराटनगरका ‘डन’ अभिषेक गिरीलाई मोरङ कारागारमा ल्याए आफूहरु असुरक्षित हुने भन्दै कारागारमा रहेका कैदीबन्दीका आफन्तले प्रदर्शन गरेका छन् । अभिषेक गिरीलाई विराटनगर ल्याउनु हुँदैन भन्दै सयौंको संख्यामा कारागार अगाडि कैदीबन्दीका आफन्त धर्नामा बसेका छन् । गिरीलाई मोरङ कारागार ल्याउनकै लागि कारागारबाट सरुवा भएका चौकीदार नविन राईलाई प्रहरीले स्कर्टिङ गरेर सुनसरीको झुम्का कारागार पुर्याएको छ । झुम्का कारागार सरुवा भएका राई जान नमानेपछि प्रशासनले उनलाई सोमबार साँझतिर स्कर्टिङ गरेर कारागार पुर्याएको हो । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी राई मोरङ कारागारमा तीन वर्षदेखि चौकीदारको रूपमा कार्यरत थिए ।

उनको स्थानमा अपहरण आरोपमा जेलमा रहेका अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने तयारी स्वरुप उनको सरुवा गरिएको स्रोतको भनाइ छ ।डिल्लीबजार कारागारमा रहेका गिरीलाई कारागार व्यवस्थापन विभागले मोरङ जिल्लामा सरुवा गरेको थियो । तर, सरकार परिवर्तनसँगै जहाँबाट सरुवा गरियो त्यहिं ल्याउने निर्णयको विरोध भएपछि अहिले स्थगीत गरिएको छ ।

मोरङ कारागारका निमित्त प्रमुख रामप्रसाद पोखरेलले अभिषेक गिरीको सरुवा भएर आउने हल्लाकै भरमा कैदीबन्दीले विरोधका लागि नाराबाजी गरेको बताए । मोरङ जेलबाटै फिरौती र व्यवसायीसँग असुली धन्दा चलाएको आरोपमा गिरीलाई २०७४ चैत २३ गते डिल्लीबजार कारागार सरुवा गरिएको थियो । गिरीलाई नेपाली कांग्रेसका नेताहरूको दबाबमा मोरङ कारागार सरुवा गरिएको श्रोतको भनाई छ ।