विराटनगर-सुनसरी मोरङ औद्योगिक करिडोरका सानाठुला ५ सय उद्योगमा विद्युत अनिमयित हुदा मासिक २ अर्ब १० करोड रुपैयाँ बराबरको नोक्सानी उद्योगहरुले व्यहोर्नु परेको छ । विद्युत ट्रिपिङ हुदा दैनिक ७ करोडको क्षति हुने गरेको छ । जसमा पुन प्रयोग गर्न नमिल्नेगरि कच्चा पदार्थ खेरजाने,  मेशिनरीमा क्षति पुग्ने र रिप्रोसेसिङ गर्दा लाग्ने खर्च गरि दैनिक ७ करोड क्षति भइरहेको उद्योगीले बताएका छन । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको महाप्रवन्धकमा दोश्रो पटक नियुक्ती लिएर आएपनि औद्योगिक क्षेत्रमा भइरहेको विद्युत अनियमिततामा कुनै सुधार आउन नसकेको उद्योगीहरुले बताएका छन ।


२४ घण्टामा औद्योगिक करिडोरमा दैनिक ४ पटक सम्म ट्रिपिङ हुनेगरेको छ । जस्को कारण उद्योगमा उत्पादनको प्रोसेसिङमा रहेको कच्चा पदार्थ खेरजाने, पार्टपूर्जा विग्रने र खेरनगएको तर मेसिनबाट निकालेर पुनः प्रयोग गर्नुपर्ने कच्चा पदार्थको कारण उद्योगहरुले दैनिक ७ करोड क्षति ब्यहोर्नु परिरहेको हो । विद्युत अनियमितताले लक्ष्य अनुरुप उद्योगले बस्तुको उत्पादन समेत गर्न सकेका छैनन ।


उद्योग संगठन मोरङका अध्यक्ष सुयसराज प्याकुरेलले सरकारले विद्युत उत्पादनमा बढी ध्यान दिएको तर प्रशारणलाईनलाई अपग्रेड गर्ने र विद्युत भार थाम्न सक्ने गरि कार्य नगरेको कारणले देशमा विद्युत उत्पादन खपत भन्दा बढी भएको तर थप खपत बढाउन प्रशारणलाईनको गुणस्तर कम भएकाले खपत हुन नसकेको बताए ।


सुनसरी मोरङ औद्योगिक करिडोरका सबै किसिमका उद्योगले अहिले पनि विद्युतको मार खेपिरहेको उनले बताए । दैनिक ३ देखी ४ पटक सम्म विद्युत ट्रिपिङ हुदा उद्योगहरुले २० प्रतिशत सम्म कच्चा पदार्थमा र उत्पादनमा क्षति ब्यहोर्दै आएका छन । प्लाष्टिकका मझौला उद्योगले दैनिक ७५ देखी १ लाख सम्मको कच्चापदार्थ गुमाइरहेका छन । सोझै कच्चा पदार्थ नोक्सानी नहुने उद्योगको पुनः कच्चा पदार्थलाई उत्पादन प्रक्रियामा लादा त्यसको प्रोसेसिङ खर्च दोब्बर भइरहेको छ । जस्को क्षतिपूर्ति कतैबाट पनि छैन । सरकारले विद्युत उत्पादनमा मात्रै नभएर प्रशारणमा समेत ध्यान दिनु पर्ने बताउदै अध्यक्ष सुयसराजले भने ‘सरकारले पुरानो प्रशासरण लाईनलाई विस्तापित गरेर नयाँ अपग्रेड नगरे सम्म उद्योगहरुले लक्ष्य अनुरुप उत्पादन गर्न सक्ने अवस्था छैन, उद्योगको उत्पादन लागत बढीरहेको छ । कालान्तरमा त्यसको भार उपभोक्तालाई पर्छ ।’


उद्योग संगठनका पूर्व उपाध्यक्ष तथा उर्जा संयोजक राकेश सुरानाले सुनसरी मोरङ औद्योगिक करिडोरका सबैखाले उद्योगले दैनिक विद्युत आपूर्ति बन्दहुदा ७ करोड रुपैयाँ गुमाइरहेको बताए । सबैभन्दा बढी क्षति प्लाष्टिक, आइरन र सिमेन्ट उद्योगमा भइरहेको उनले बताए । उनले औद्योगिक क्षेत्रमा दैनिक ४ देखी ५ पटक र डोमेस्टिक एरियामा ७ पटक सम्म दैनिक विद्युत अवरुद्ध हुनेगरेको बताए ।


विद्युत ट्रिपिङको समस्यासंगै लोभोल्टेजको कारण विद्युत महशुलमा १७ देखी २२ प्रतिशतसम्म बढी शुल्क तिर्नु परिरहेको उनले सुनाए । विद्युतको कम गुणस्तरको भएको कारणले दैनिक उद्योगहरुले ढेड करोड रुपैयाँ बराबरको क्षति ब्यहोरिरहेको र ४ करोड बराबरको कच्चा पदार्थ नष्ट भइरहेको, दैनिक एक करोडको मिल मेसिनरिमा क्षति पुग्ने गरेको छ । विद्युत आपूर्तिमा हुने गढबडीले उद्योगले लक्ष्य अनुरुप उत्पादन गर्न नसक्दा दैनिक डेढ करोडको घाटा सहनु परेको उनले बताए । माग र आपूर्तिको सन्तुलन कायम गर्न उद्योगहरुलाई निकै कठिन भएको गुनासो उनले गरे ।


बन्धन सिमेन्टका संचालक मनिष मारुले विद्युत आपूर्तिमा भइरहेको समस्याको कारण प्रदेश १ मा रहेका १३ वटा सिमेन्ट उद्योगले दैनिक १४००० टन सिमेन्ट बनाउन प्रयोग हुने कच्चा पदार्थ गुमाइरहेको बताए । उनका अनुसार दैनिक १ करोड ९६ लाख रुपैयाँ बराबरको क्षति सिमेन्ट उद्योगलाई छ । यसमा मेशिनरीको क्षति र लक्ष अनुरुपको उत्पादन गर्न नसक्दा व्यहोर्नु पर्ने क्षतिको मूल्य जोडिएको छैन ।


मारुका अनुसार गुणस्तरिय विद्युत सेवा दिन नसक्ने प्राधिकरणले विद्युतको अनियमितताको कारण उद्योगहरुमा भइरहेको क्षतिको पूर्ति कसरी गर्ने भन्ने बिषयमा सरकारले सोच्नु पर्छ नत्र त्यसले उत्पादनको लागत बृद्धि भएर उत्पादनमा मूल्य बृद्धि हुन सक्छ । उनले भने‘विद्युत प्राधिकरणले प्रयोग नै नभएको विद्युत डिमाण्ड शुल्क लिन मिल्छ भने विद्युत आपूर्तिमा भएको अनियमितताको कारण उद्योगहरुले व्यहोर्नु परेको क्षतिको पूर्ति समेत सरकारले गर्नु पर्छ ।’


पशुपति आइरनका संचालक तथा उद्योग संगठन मोरङका पूर्व अध्यक्ष अशोक मुरारकाले आधा घण्टाको लोडसेडिङले फलाम पगाल्ने प्लान्टमा ४ लाखको क्षति हुने बताए । विना जानकारी विद्युत जादाको अवस्थामा सबैभन्दा बढी स्टिल उद्योगहरु समस्यामा पर्ने उनले बताए । एक मिनेटको ट्रिपमा पनि उद्योगमा कम्तिमा २० हजार सम्मको क्षति पुग्ने उनले जानकारी दिए । आफ्नो उद्योगमा २० मेगावाट विद्युत खपत हुने तर यसको विकल्पमा डिलेज प्लान्ट राख्न सम्भव नभएकाले प्राधिकरणको असक्षमताको कारण पीडित बन्नु परिरहेको बताए । सरकारले भारतमा विद्युत विक्री गर्नु भन्दा पहिला नेपालमै यसको खपत बढाउनु पर्नेमा जोड दिनु पर्ने र प्रशासरणलाईनहरुको सुधार गरि गुणस्तरिय विद्युत वितरण गरिनुपर्ने माग गरे ।


नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रीडका प्रमुख राजेश रेग्मीले पुरानो प्रशारण लाईन र ट्रान्समिशन लाइनले भार बहन गर्न सक्ने क्षमता भन्दा बढी विद्युतको भार थाम्नु परिरहेको कारण ट्रिपिङको समस्या रहेको बताए । उनले उद्योगीहरुले मात्र नभई स्वयं प्राधिकरणले पनि ट्रिपिङको कारण लाखौं रुपैयाँ महशुल गुमाइरहेका बताए । आफुले केन्द्रमा प्रशारण र ट्रान्समिसन लाईन फेर्नका लागि सुझाव दिएको उनले बताए ।


अहिले दुहवी ग्रिडबाट प्रदेश १ मा २३३ मेगावाट विद्युत सप्लाई भइरहेको छ । यो डिमाण्ड अनुसार तलमाथि हुन्छ । दुहवी ग्रीडबाट १५९ मेगावाट अनारमनीबाट ५२ मेगावाट र दमकबाट ३२ मेगावाट विद्युत वितरण भइरहेको छ । कावेली करिडोर अन्तरगत १६५ मेगावाट विद्युत पनि ग्रिडमा थपिएको छ । अपरतामाकोशीबाट आउने ६५ मेगावाट विद्युत पनि ग्रिटमा रुपनीबाट आउछ । दुहवी ग्रिडले नेपालमै विद्युत माग भन्दा बढी भएकाले भारतको कटैयाबाट अहिले विद्युत लिनु परेको छैन । यस अघि दैनिक भारतबाट २०० मेगावाट विद्युत दुहवी ग्रिडले लिदै आएको थियो ।