विराटनगर—झापा र खोटाङमा लडेर दुई जनाको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको कनकाई नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लडेर दुई जनाको मृत्यु भएको हो ।

झापा कनकाई नगरपालिका–२ सुकेडाँगी का ४२ वर्षीय राजबहादुर राईको रूखबाट लडेर मृत्यु भएको छ । आइतबार दिउँसो साढे २ बजे घिरौँला टिप्न रूख चढेका राई रूखबाट लडेर गम्भीर घाइते भएका थिए ।

घाइते उनको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागि नोबेल अस्पताल विराटनगरतर्फ ल्याउने क्रममा बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको थियो ।

घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्रङ की ६० वर्षीया कमला राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका ८ बजे आफ्नै घरको बरन्डाबाट लडेर गम्भीर घाइते भएकी राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा राति साढे ९ बजे मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।