इलाम— इलामबाट प्रतिबन्धित भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका–१० फिक्कलका ३५ वर्षीय अनुप अग्रवाल रहेका छन् ।

उनलाई इलाम सूर्योदय नगरपालिका–६ हर्कटे चौकबाट प्रहरीले पक्राउ गरेको हो । आइतबार बेलुका ४ बजे प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवालले सवार गरेको मे १ च ६४२४ कारलाई चेकजाँच गरेको थियो ।

सो क्रममा उनको साथमा रहेको कालो ब्यागमा दुई हजार, पाँच सय, दुई सय र एक सयको नोट गरी जम्मा ११ लाख भारु फेला परेको थियो । भारतीय नोटसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखिएको छ ।

पक्राउ परेका उनलाई कानुनी कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।