विराटनगर- प्रदेश १ प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी एक्लैबाट सम्भव नहुने बताए । सडकमा ट्राफिक प्रहरीले राजदूतको रूपमा काम गरिरहेको बताउँदै उहाँले बढ्दै गएको दुर्घटना न्यूनीकरणमा भने ट्राफिकबाट मात्रै सम्भव नहुने उल्लेख गरे । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ६६ औँ  प्रहरी दिवसको अवसर पारेर विराटनगर बसपार्कमा आज आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै डीआईजी बीसीले दुर्घटना नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताए।

सबै पक्षसँग हातेमालो र सहकार्य गर्दै सडक सुरक्षाका दृष्टिकोणले प्रदेश १ लाई मुलुककै नमुना बनाउने गरी काम भाइरहेको जानकारी उनले दिए । चाडपर्वका बेला हुनसक्ने सम्भावित अपराधलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाएर लागू गरिएको बीसीले बताएु  । स्वास्थ्य मानिसको सबैभन्दा ठूलो धन भएको बताउँदै उनँले ट्राफिक प्रहरीले आयोजना गरेको शिविरबाट यातायात मजदुर र प्रहरीका परिवारलाई अधिक लाभ लिन आग्रह गरे।

कार्यक्रमको अवसरमा डीआईजी बीसीले यात्रु सहायता कक्षको समेत उद्घाटन गरे । चाडपर्वका बेला यात्रुको सुविधाका लागि प्रदेश १ भरी नै यात्रु सहायता कक्षा सञ्चालन गरिएको जानकारी उनले दिए । नोबेल शिक्षण अस्पताल र नेपाल औषधि व्यवसायी संघ मोरङको सहयोग एवं ट्राफिक प्रहरीसँगको सहकार्यमा नेपाल यातायात व्यवसायी महासंघ र यातायात मजदुर संघले स्वास्थ्य शिविरको आयोजना गरेका हुन् । त्यस अवसरमा तीन जना सवारी चालकलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा सवारी चालक धर्मकुमार अधिकारी, दीपक बुर्जामगर र अम्बिका अधिकारी रहेकाछन।

विराटनगर बसपार्क व्यवस्थापन समितिका अध्यक्ष पदमकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको छ । शिविर आयोजनाका लागि मद्धत गर्ने औषधि व्यवसायी संघ मोरङ र नोबेल शिक्षण अस्पताललाई पनि सम्मान गरिएको छ । निःशुल्क स्वास्थ्य शिविरमा भिडियो एक्स–रे, इको, ईसीजी, ल्याब परीक्षण लगायतका सेवा लिन सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए ।