इटहरी— सुनसरीको कोसी गाउँपालिका–३ स्थित कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आइतबार मकुना जङ्गली हात्ती मृतावस्थामा फेला परेको छ ।  हात्तीसार उत्तरपट्टि अक्वा रिसोर्टदेखि तीन सय मिटर उत्तर, बाँधको पूर्वपट्टी जङ्गलमा हात्ती मृत भेटिएको संरक्षण कार्यकर्ता राजकुमार सिंहले बताए । 

कोसीटप्पु वन्यजन्तु आरक्षको नजिकैका गाउँ, धान तथा उखु खेतमा बिजुलीको नाङ्गो तार जोडिएकाले करेन्ट लागेर मृत्यु भएको अनुमान गरिएको छ । उनले हात्तीको अन्य कुनै भागमा चोटपटक नभएको जनाउँदै करेन्टकै कारण मरेको हुनसक्ने अनुमान गरिएको बताए । 

आरक्षका वार्डेन अधिकृत अशोककुमार रामले हात्तीको पोस्टमार्टम गर्न स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुगेको जानकारी दिए । 

उनका अनुसार स्थानीयले बाली जोगाउन स्थानीयले खेतबारीमा राखेको नाङ्गो तारमा लागेर हात्तीको मृत्यु भएको हो । बिजुलीको करेन्ट लागेरै मध्यवर्ती क्षेत्रमा छवटा हात्तीको मृत्यु भएको उनले बताए । सुनसरीको चतरा, प्रकाशपुर, कुशाहा, सप्तरीको कञ्चनपुर, खडक नगरपालिकामा करेन्ट लागेर हात्तीको मृत्यु भएको हो ।

मृत हात्तीलाई कानुनी प्रक्रिया पूरा गरेर मरेकै स्थानमा खाल्डो खनेर गाडिने वार्डेन रामले बताए ।  मध्यवर्ती क्षेत्रमा आतङ्क मच्चाएको उक्त माकुना हात्तीको उत्तेजना शान्त पार्न दुई पटक डार्ट गरिएको थियो ।