विराटनगर- सुनसरीको दुहवी र मोरङको विराटनगरमा हिजोसाँझ अलगअलग दुर्घटना भएका छन् । दुर्घटनामा नाबालक र वृद्धसहित तीन जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी नगरपालिका–१० स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परेको हो । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १९ प ५०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किर दुर्घटना भएको हो ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार साँझ ५ः३० बजेतिर दुर्घटना हुँदा मोटरसाइकल चालक दुहवी–११ का ४५ वर्षीय ईश्वरचन माझी चौधरीको मृत्यु भएको हो । दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा साँझ ७ः१० बजेतिर मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको पाइएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

त्यस्तै कोसी लोकमार्गअन्तर्गत सुनसरीकै दुहवी–८ सोनापुरमा यात्रुबहाक बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको ना ५ ख ४५१३ नम्बरको बसले साँझ ६ः१५ बजेतिर ठक्कर दिँदा पैदल यात्री मोरङको बेलबारी नगरपालिका बस्ने ७२ वर्षीय वृद्ध पवनलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा विराट शिक्षण अस्पतालमै मृत्यु भएको हो । दुर्घटनापछि प्रहरीले बस र चालक सप्तरीको सप्तकोसी नगरपालिका–५ का ४४ वर्षीय रोहितबहादुर विष्टलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । प्रहरीका अनुसार सडक पार गर्दैगर्दा वृद्धलाई बसले ठक्कर दिएको थियो । तीव्र गतिमा रहेको बसका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । यसैबीच विराटनगर महानगरपालिका–१४ भगवती टोलमा अढाई बर्से नाबालक खेल्ने क्रममा रोकेर राखेको सिटी सफारी दुर्घटनामा परेको छ ।

प्रहरीका अनुसार घरनजिक रोकेर राखेको को १ ह ४३५० नम्बरको सफारीमा साँझ ६ः५५ बजेतिर अमर महतोका अढाई बर्से छोरा अनिल महतो खेल्दै थिए । त्यस क्रममा आफै अगाडि बढेको सफारीले छेउमै राखिएका ९ महिने नाबालक सुनील महतोलाई ठक्कर दिएको थियो । सफारीको ठक्करबाट घाइते भएका सुनीलको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा साँझ ७ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका ९ महिने नाबालक अमरका छोरा एवम् अनिलका भाइ हुन् । रोकेर राखिएको सफारीमा बच्चा खेल्ने क्रममा दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।