विराटनगर - नेपाल विद्युत प्राधिकरणले शनिबारबाट विराटनगरका ग्राहक सेवा केन्द्रले बिजुलीको खम्बा प्रयोग गरेबापतको भाडा नतिर्ने इन्टरनेट र केबल टिभी सेवा प्रदायक कम्पनीको तार काट्न थालेको छ । शनिबार दिउँसो प्राधिकरणले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र ग्रामथान गाउँपालिकामा इन्टरनेट र केबल टिभीको केबल काटिदिएको जानकारी दिएको छ  ।

विराटनगर ३ स्थित पुष्पलाल चोकमा प्राधिकरणले तार काटिदिएको छ भने  बुढीगंगा गाउँपालिका वडा नम्बर १ र २ मा बिस्तार गरिएको इन्टरनेट र केबलको तार काटेको छ । यस्तै ग्रामथान गाउँपालिका वडा नम्बर ३ र ४ मा बिच््याइएको तारपनि प्राधिकरणले काटेको छ । नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काटिदिएपछि त्यस क्षेत्रका अधिकांश उपभोक्ताहरु इन्टरनेट सेवाबाट बञ्चित हुनुका साथै केबलमार्फत प्रवाह हुने टेलिभिजन सेवा पनि अबरुद्ध भएको छ ।

केही समय यता बिजुलीको खम्बा भाडाको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरण र इन्टरनेट तथा टिभी केबल प्रशारकहरुबीच विवाद भइरहेको थियो । प्राधिकरणले २०७४ सालमा भएको सम्झौता बमोजिमको भाडा तिर्न ताकेता गरेको थियो भने इन्टरनेट प्रदायकहरुले त्यसलाई बेवास्ता गर्दै आएका थिए ।

प्राधिकरणले असोज १५ गतेसम्म भाडा नतिरे तार काट्ने यसअघि नै सार्वजनिक सूचना निकालेको थियो । सोही अनुसार बक्यौता रकम नतिरेपछि प्राधिकरणले शनिबारबाट सांकेतिक रुपमा धमाधम तार काट्न थालेको हो ।नेपाल विद्युत प्राधिकरण विराटनगर ग्राहक सेवा केन्द्रका प्रमुख रोशनकुमार खड्काले सांकेतिक रुपमा मात्र शनिबार विराटनगर र आसपासका केही ठाउँको तार काटिएको बताए । उनले आइतबार केन्द्रबाट आउने निर्देशनका आधारमा थप कारवाही अघि बढउने जानकारी दिए् ।