विराटनगर- ३८ क्वीन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दामा शुक्रबार १८ जना प्रतिवादीको पक्षमा बहस भएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीको प्रतिरक्षामा वरिष्ठ अधिवक्ता यदुनाथ खनाल र सुरेशलाल श्रेष्ठसहितका कानुन व्यवासायीले बहस गरे । 

अभियुक्तको बचाउमा अधिवक्ताहरु भरतबहादुर थापा, उद्धवचन्द्र घिमिरे, पुरुषोत्तम नेपाल, हरिनारायण चौधरी, रमिता महर्जन, लक्ष्मण शर्मा न्यौपाने, विनोद तिमल्सिना, खगेन्द्र ढकाल, विकाश थापा, केदारप्रसाद दाहाल र अपूर्व भण्डारीले बहस गरेको मोरङ अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाले बताए । उनका अनुसार  १८ प्रतिवादीका पक्षमा १३ जना कानुन व्यवासायीले बहस गर्नु भएको हो । प्रतिवादीहरु नेपाल प्रहरीका एसपी विकाराज खनाल, सुन व्यापारी आके भनिने राजेन्द्रकुमार शाक्य, चेतन भनिने चेतनाथ भण्डारी, बालकृष्ण श्रेष्ठ, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, पुन्यप्रसाद लामा, हरिशरण खड्का, सम्वीरप्रसाद तोलांगेको पक्षमा बहस भएको छ । त्यस्तै अम्बरबहादुर थापामगर, विनोद अधिकारी, प्रभातकुमार अग्रवाल, राजकुमार दारुका, इम्तियाज मुस्लिम, विमल पोद्धार, बेनु श्रेष्ठ र प्रमोदकुमार श्रेष्ठको प्रतिरक्षामा पनि बहस भएको श्रेस्तेदार राणाले बताए ।

२०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले मुद्दा दर्ता गरेको थियो । मुद्दाको अन्तिम सुनुवाइ जिल्ला अदालत मोरङमा गत आइतबारदेखि जारी छ । मुद्दामा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७७ जनालाई प्रतिवादी बनाइएको छ । १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी सरकार पक्षको छ । 

सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा उक्त परिणामको सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेको दाबी सरकार पक्षको छ । तर तस्करी गरेको भनिएको सुन भने अझैसम्म फेला परेको छैन । तस्करी गरेर दुबईबाट ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोप लगाउँदै गोरेसहित उनको समूहले २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै सनमको हत्या गरेको हो । सनम हत्याको अनुसन्धान गर्दा ठूलो परिणाममा विदेशबाट नेपालतिर सुन तस्करी भइरहेको पत्ता लागेको थियो ।