विराटनगर- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दसैंपछि विश्वासको मत लिने तयारी गरेका छन । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश १ सरकारले संसदको हिउँदै अधिवेशन भने असोज २२ गतेका लागि आह्वान गरेको छ । तर असोज २६ गतेदेखि दसैं बिदा पर्ने भएकाले दसैं सकिएपछि मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लछुमन तिवारीले बताए ।

आचार्य गत भदौ १० गते प्रदेशको मुख्यमन्त्री बनेकाहुन । नेकपा (एमाले) विभाजनपछि मुख्यमन्त्री बनेका उनँले पद जोगाउनलाई संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेश संसद सचिवालयमा दल विभाजनको पत्र भने भदौ २५ गते पुगेको थियो । ‘दल विभाजनको एक महिनाभित्र विश्वासको मत लिने प्रक्रिया सुरु हुन्छ,’ मन्त्री तिवारीले भने, ‘सरकारको तर्फबाट भने अधिवेशन आह्वान भएकै दिन अर्थात असोज २२ गते नै विश्वासको मत लिने प्रस्ताव जाने छ ।’ तर विश्वासको मत कहिले लिनेभन्ने मिति भने यकिन नभएको उनले बताए । तिवारीका अनुसार विश्वासको मत लिनका लागि सभामुख प्रदीपकुमार भण्डारीले समय तोक्ने छन । दसैको मुखमा अधिवेशन आह्वान गरिएकाले दसैंपछि विश्वासको मत लिने तयारी भइरहेको एमालेका एक सांसदले बताए । सरकारले दसैंपछि विश्वासको मत लिने तयारी गरिरहेको बुझेपछि प्रतिपक्षी दलले भने त्यो मान्य नहुने बताइरहेका छन् ।

दसैंअघि नै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने माग प्रतिपक्षीको छ । प्रतिपक्षी दलमध्ये नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले असोज २२ गते प्रक्रिया सुरु हुने भएकाले दसैंअघि नै विश्वासको मत लिनुपर्ने बताए । उनका अनुसार दसैंअघि नै मत लिने वातावरण बनाउन प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई आग्रह गरिएको छ । विपक्षी गठबन्धनले गत बुधबार प्रदेशका मुख्यमन्त्री ‘प्यासी’सँग भेटघाट र छलफल गरेको थियो । सभामुखलाई पनि दसैंअघि नै विश्वासको मत लिने मिति तोक्न आग्रह गरिने आङ्बोको भनाइ छ । ‘असोज २४ गते दल विभाजनको ३० दिन पुग्छ । उनिहरु (सरकार पक्ष)ले नै भने अनुसार विभाजनको १ महिना २४ गते पुग्ने भएकाले २२ गते प्रक्रिया सुरु गरेर दसैंपछि विश्वासको मत लिन्छौँभन्न पाइँदैन,’ उनँले भने  ‘२४ गतेभित्र विश्वासको मत लिइसक्नु पर्छ ।

एमाले भदौ ९ गते विभाजन भए पनि सरकारले यो वा त्यो बहानामा विश्वासको मत लिने समय पर धकेलिरहेको छ ।’ ९२ सदस्यीय प्रदेशसभामा विपक्षी गठबन्धनका ५० जना सांसद छन् । सभामुखसहित सत्तारुढ एमालेका ४१ जना सांसद रहेका छन् । एमालेका ५१ सांसदमध्ये १० जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि आचार्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।