विराटनगर-   मानसिक रोगका कारण स्वास्थ्यमा आउने चुनौती र त्यसको निदान र उपचार सेवालाई थप प्रभावकारी वनाउन मनोचिकित्सकहरुको आठौं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको  छ । मनोचिकित्सक संघ राष्ट्रिय सम्मेलन समितिका संयोजक प्राडा नवराज कोइरालाले बिहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आगामी कात्तिक ११ गतेदेखि १३ गतेसम्म हुने र विभिन्न १८ राष्ट्रका गरी तीन सय मनोचिकित्सकहरुको सहभागिता रहने जानकारी दिईएको छ ।

उच्चतम आधुनिक तथा वैज्ञानिक ज्ञान र शीप आर्जनगरि मानसिक रोगीलाई छिटो छरितो रुपमा सेवा पुर्याउनु सम्मेलनको मुख्य उद्देश्य रहेको छ । सम्मेलनमा सहभागी चिकित्सकहरु  वीच मानसिक स्वास्थ्यमा वहपक्षिय साझेदारी तथा मानसिक स्वास्थ्यमा देखिने चुनौती र अवसरका विषयमा छलफल हुने संयोजक प्राडा कोइरालाले बताए । सम्मेलनमा ३२ वटा कार्यपत्र प्रस्तुत हुनुका साथै मानसिक स्वाथ्यमा पत्रकारिताका विषयमा पत्रकारसँग तथा  मानसिक स्वास्थ्यका विषयमा वनाइने नीति निर्माणमा कानुन विज्ञसंग सम्मेलनमा  छलफल हुने छ ।

सम्मेलवाट आएका सुझावलाई वुँदागत रुपमा सरकार समक्ष प्रस्तुत गरिने जनाइएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वको हरेक एक सय  व्यक्त्ति मध्ये १५ देखी २० जनामा मानसिक रोगको असर देखिने गरेको छ । विराटनगर अस्पताल तथा विराट चिकित्सक शिक्षण अस्पतालका निर्देशक डा.ज्ञानेन्द्रमानसिंह कार्कीले सम्मेलनलाई सफल वनाउन सबैसँग आग्रह गरेकाछन।