विराटनगर- ३८ क्वीन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दामा बिहिबार  १५ जना कानुन व्यवसायीले बहस गरेका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा प्रतिरक्षा बहस गर्नेमा दुई जना वरिष्ठ अधिवक्ताहरु पनि थिए ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनसार १५ जना कानुन व्यवसायीले १३ जना प्रतिवादीको पक्षमा बिहिबार बहस गरेका हुन् । उनका अनुसार वरिष्ठ अधिवक्ताहरु सुरेशलाल श्रेष्ठ, गोपालकृष्ण घिमिरे, अधिवक्ताहरु सागर घिमिरे, भरतबहादुर थापा, देवीबहादुर घिमिरे, बलराम सुवेदी, हेमराज पन्त, ज्ञानेन्द्र थापा, बासुदेव ज्ञवाली, गणेशप्रसाद लुइँटेल, प्रवीण सुवेदी, विकाश थापा, डिल्लीबहादुर कार्की, सीताराम राई र देवेन्द्र कोइरालाले प्रतिवादीको प्रतिरक्षा बहस गरे । कानुन व्यवसायीहरुले प्रतिवादीहरु नीरु भनिने नर्वदा खरेल, भुजुङ गुरुङ, तुलाराम थारु, ठाकुरप्रसाद ढुंगाना, रोशन भनिने गुप्तलाल भुसाल, मदन सिलवाल, बाला दाइ भनिने बालकृष्ण खड्का, हेमन्त गौतम, भोजे मामा भनिने भोजराज भण्डारी, लाक्पा शेर्पा, राजन कुमार, दोराम खत्री र  चाचा जी भनिने महावीरप्रसाद गोल्यानका पक्षमा बहस गरेको धमलाले बताए। नर्वदा मुद्दामा मुख्य अभियुक्त बनाइएका मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उपे्रतीकी पत्नी हुन् ।

नर्वदाको पक्षमा अधिवक्ता विकाश थापाले बहस गरे । गुरुङ दुवईबाट नेपालमा हुने सुन तस्करीको मुख्य लगानीकर्ता भएको अनुसन्धानबाट पत्ता लागेको थियो । गुरुङको प्रतिरक्षामा अधिवक्ताहरु सागर घिमिरे, भरतबहादुर थापा र देवीबहादुर घिमिरेले बहस गरे। मुद्दाका चर्चित अभियुक्तमध्येका भोजे मामा भनिने भोजराज भण्डारीको प्रतिरक्षामा विकाश थापा र देवेन्द्र कोइरालाले बहस गरे । अदालतमा मुद्दा दर्ता भएपछि फरार रहेका भण्डारी तीन महिनअघि मात्रै मोरङ अदालतमा हाजिर भएका हुन् । अदालतको आदेशबाट उनी अहिले थुनामा छन् । अनुसन्धानका क्रममा विदेशबाट नेपालतिर तस्करी हुने सुन घरमा राखेर अन्यत्र ‘सप्लाई’ गर्ने धन्दामा भण्डारीको संलग्नता देखिएको थियो । वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठले व्यापारीसमेत रहेका प्रतिवादी चाचा जी भनिने महावीरप्रसाद गोल्यानको प्रतिरक्षामा बहस गर्नु भयो । विदेशबाट तस्करी गरेर ल्याइएको सुन गोरेको समूहबाट लिएर भारततिर ‘सप्लाई’ गर्ने धन्दामा उनको संलग्नता देखिएको थियो । 

तुलाराम थारु नेपाल एयरलाइन्सका गाडी चालक र हेमन्त गौतम तथा दोराम खत्री थाइ एयरलाइन्सका कर्मचारी हुन् । दुवईबाट त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रने तस्करीको सुन गोरेको समूहलाई जिम्मा लगाउने धन्दामा संलग्नता देखिएपछि उनीहरुलाई पनि मुद्दामा प्रतिवादी बनाइएको थियो । ठाकुरप्रसाद ढुंगाना दुवईका ट्राभल्स एजेन्सी सञ्चालक हुन् । उनले गोरेको समूहसँग साँठगाँठ गरेर नेपालतिर सुन पठाउने गरेको खुलेको छ । रोशन भनिने गुप्तलाल भुसाल दुवईमा बसेर अपराधिक क्रियाकलाप गरिरहेका व्यक्ति हुन् । गोरेसँग मिलेर नेपालतिर सुन तस्करी गर्ने धन्दामा उनको संलग्नता यकिन भएको बताइएको छ । नेपालमै बसेर सुनको व्यापार गरिरहेका मदन सिलवालले दुवईबाट आएको सुन किन्ने र बिक्री तथा विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने गरेको पाइएको थियो । अनुसन्धानबाट पत्ता लागेअनुसार बाला दाइ भनिने बालकृष्ण खड्का सुन तस्करका सहयोगी हुन् ।  भारतीय नागरिक राजन कुमार र लाक्पा शेर्पा गोरेका सवारी चालक हुन् ।

दुवईबाट नेपालमा सुन तस्करी गर्न र तस्करीको सुन भारततिर ‘सप्लाई’ गर्न गोरेको समूहलाई सहयोग गरेको अभियोग उनीहरुमाथि छ । सुन तस्करी र सनम हत्यामा प्रतिवादीहरुको संलग्नता नदेखिएको जिकिर उनीहरुका कानुन व्यवसायीले गरेका छन् । कानुन व्यवसायीहरुले प्रमाणका रूपमा पेस गर्नुपर्ने सुन नै फेला नपरेको अवस्थामा विभिन्न व्यक्तिहरुलाई जबरजस्ती अभियुक्त बनाउँदै हचुवाका भरमा मुद्दा चलाइएको दाबी गरे । प्रतिवादीहरुले मुद्दामा सफाइ पाउनुपर्ने जिकिर कानुन व्यवसायीहरुको छ । जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते मुद्दा दर्ता गरेको थियो । १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी सरकार पक्षको छ । 

  सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा उक्त परिणामको सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेको हो । तर तस्करी गरेको भनिएको सुन नै अहिलेसम्म फेला परेको छैन । तस्करीको साढे ३३ किलो सुन दुवईबाट काठमाडौं ल्याएपछि गायब बनाएको आरोपमा गोरेको समूहले २०७४ साल फागुन १८ गते सनमको हत्या गरेको थियो । सनम हत्याको अनुसन्धान गर्दा ठूलो परिणाममा विदेशबाट नेपालतिर सुन तस्करी भइरहेको पत्ता लागेपछि मोरङ अदालतमा मुद्दा दायर गरिएको हो । मुद्दाको अन्तिम सुनुवाइ गत आइतबारदेखि अदालतमा जारी छ ।

फैसलाको चरणमा रहेको मुद्दामा प्रतिवादी पक्षका कानुन व्यवसायीको बहस सकिएपछि वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिलले प्रतिउत्तर बहस गर्ने छन् । अदालतका श्रेस्तेदार टीकेन्द्रवीर जंग राणाका अनुसार प्रतिरक्षा र प्रतिउत्तर बहस सकिएपछि अरु थप विषय बुझ्न नपरेमा अदालतबाट मुद्दाको फैसला हुने छ । दसैंअगाडि नै मुद्दाको फैसला गर्ने तयारी रहेको राणाले बताए । उनँका अनुसार मुद्धामा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७७ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीमध्ये ५५ जना पक्राउ परिसकेका छन् । पक्राउ नपरेका अरु २२ जना फरार रहेको जानकारी राणाले दिए ।