विराटनगर-  विराटनगर भन्सार कार्यालयबाट जाँचपास गराएर गन्तव्यतर्फ जाँदै गरेको कपडा लोड गरिएको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले विराटनगरबाटै पक्रिएको छ । सशस्त्र प्रहरीले बीआर ३८ डी ३४४७ नम्बरको ट्याक्टरलाई चालकसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कारबाहीका लागि हिजोसाँझ राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाएको हो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले विराटनगर महानगरपालिका–१६ पारिजात चोकबाट चालक भारत जोगवनीका ३२ वर्षीय पङ्कज यादवसहित ट्याक्टर नियन्त्रणमा लिइएको बताए ।

उनँका अनुसार ट्याक्टरमा ३४ लाख मूल्य बराबरको कपडा लोड गरिएको थियो । ‘भिसिटिएस (भेहिकल एन्ड कनसाइनमेन्ट ट्रयाकिङ सिस्टम) मा ट्याक्टरको नम्बर उल्लेख नभएको पाइएपछि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ,’ एसपी पौडेलले भने । भिसिटिएसअन्तर्गत महालबाहक सवारी साधन एक ठाउँबाट अर्को ठाउँमा सामान लिएर जाँदा बिलमा भएका सामानको परिणाम, मूल्य, गाडी नम्बर, चालकको नामलगायतका सबै विवरण खुलाएर अनलाइन सिस्टममा उल्लेख गरेको हुनुपर्छ । सशस्त्रले बुझाएको ट्याक्टरको नम्बर भिसिटिएस प्रणालीमा उल्लेख नभएको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख दीपक खड्काले बताए ।

उनका अनुसार भिसिटिएसमा सामानको मूल्य, प्रकार, पान नम्बर, क्रेता र बिक्रेता फर्म, चालकको नाम, गाडी नम्बर लगायत उल्लेख हुनुपर्छ । तस्करीको कपडा भएकाले अनलाइन प्रणालीमा गाडीको नम्बर उल्लेख नगरेको हुनसक्ने अनुमान गरिएको छ । राजस्व प्रमुख खड्काका अनुसार विराटनगर भन्सार कार्यालयबाट भन्सार जाँचपास गराएपछि कपडा लिएर ट्याक्टर गन्तव्यतर्फ लागेको पाइएको छ । तर प्रज्ञापनपत्रमा उल्लेख भएको ट्याक्टरको नम्बर भिसिटिएसमा उल्लेख नहुनुलाई शंकास्पद मानिएको छ । आवश्यक अनुसन्धान सुरु गरेर कपडाको गणना गर्ने काम भइरहेको बताउँदै खड्काले कुनै लापरबाही वा बदमासी फेला परेमा कारबाही अघि बढाइने जानकारी दिए ।