मोरङको भिन्नाभिन्नै स्थानबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित चार जना पक्राउ परेका छन् । मङ्गलबार बेलुका ५ बजे बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ । 

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका–३ का २३ वर्षीय अल्फन लिम्बुलाई लागूऔषध लुपिजेसिक ४ एम्पुल, डाईजाल्याब ७ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ६ एम्पुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी, हिजै बेलुका साढे ५ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका–८ विश्वकर्मा चौकबाट दुई जनालाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ ।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को १८ प ९५०२ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा स्कुटर पछाडि सवार रतुवामाई नगरपालिका–९ इटहराका २१ बर्षीय गोविन्द थापाको साथबाट प्रतिवन्धित औषधी ट्रामाडोल ४०० गोटी बरामद भएको थियो । सो प्रतिबन्धित औषधि बरामद भएपश्चात स्कुटी चालक उर्लाबारी नगरपालिका ७ का २१ वर्षीय अनिल राय समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

मोरङ विराटनगर महानगरपालिका–१५ को २ नम्बर ढाट स्थितबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २४ वर्षीय सौरभ आचार्य र उनकै भाइ सौगात आचार्य रहेका छन् ।

हिजो बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ब्राउन सुगर १० ग्राम १२० मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।