विराटनगर-  मोरङको रतुवामाई नगरपालिका–८ मा सोमबार राति ट्याक्टर र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जना युवाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे १ त ४४८७ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको प्र ३–०२–००२ प ४५८७ नम्बरको मोटरसाइकल सोमबार राति ८ बजेतिर एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रतुवामाई–८ दाम्राभिट्टाका २८ वर्षीय यादव पाठकको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा परेर पाठक गम्भीर घाइते भएका थिए। उनँको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई–८ का २७ वर्षीय विवेक पोखरेल गम्भीर घाइते भएको प्रहरीको भनाइ छ ।

उनको न्युरो अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनापछि प्रहरीले दुवै सवारी साधन र ट्याक्टर चालक रतुवामाई–२ का ३२ वर्षीय गणेश पासवानलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । दुवै सवारी साधनको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।