विराटनगर-करिब ३८ क्वीन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका क्रममा मंगलबार एक जना प्रतिवादीका पक्षमा मात्रै बहस भएको छ । मुद्दामा प्रतिवादी बनाइएका नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौलाको प्रतिरक्षामा वरिष्ठ अधिवक्ता रमेश कोइरालाले बहसगरे  । निरौलाको पक्षमा हिजो अधिवक्ता भानुभक्त निरौलाले पनि बहसगरे  । बहसका क्रममा वरिष्ठ अधिवक्ता कोइरालाले सुन तस्करी एवं सनम हत्यामा पूर्वडीआईजी निरौलाको संलग्नता नरहेको जिकिर गरे ।

उनले लगभग साढे २ घण्टा बहस गर्दै निरौलाले सफाइ पाउनुपर्ने बताए । फैसलाको चरणमा रहेको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा गत आइतबारदेखि जारी छ । वादी नेपाल सरकार पक्षका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस प्रारम्भ भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए । उनका अनुसार प्रतिरक्षा बहस सकिएपछि सरकारी पक्षका कानुन व्यवसायीले प्रतिउत्तर बहस फर्काएसँगै मुद्दाको फैसला हुने छ । प्रतिवादीका पक्षमा बहस गर्न ८० जनाभन्दा बढी कानुन व्यवसायीले वकालातनामा दर्ता गराएको र अझै पनि नाम दर्ता गराउने क्रम जारी रहेको धमलाले बताए । मंगलबार एक जनाको मात्रै बहस भएको र बुधबारदेखि पालैपालो बहस गर्ने भनेर प्रतिवादी पक्षका कानुन व्यवसायी फर्किएको बताइएको छ ।

मुद्दामा ७७ जनालाई प्रतिवादी बनाइएको छ । नेपाल प्रहरीका पूर्वडीआईजी निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरु सञ्जयबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल लगायतलाई मुद्दामा प्रतिवादी बनाइएको छ । खत्री र राउत अहिलेसम्म थुनामै छन् । निरौलासहित अरु पूर्व एवं बहालवाला प्रहरी भने छुटिसकेका छन् । २०७२ साल माघदेखि नेपाल प्रहरीका तर्फबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा गार्ड प्रमुखका रूपमा कार्यरत रहँदा प्रतिवादीमध्ये पूर्वडीआईजी निरौलामाथि सुन तस्करीमा सहयोग गरेको आरोप छ । उनले अदालतमा भने इन्कारी बयान दिएकाछन  । तर विमानस्थल बसेको ५÷६ महिनापछि मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसँग भने चिनजान भएको बताएकाछन। विराटनगरमा सनम शाक्यको शव बरामद हुँदा पक्राउ परेका उर्लाबारी नगरपालिका–४ का मोहन काफ्लेको घरबाट एउटा डायरी बरामद भएको थियो ।

अनुसन्धानबाट खुले अनुसार सुन तस्करीको हिसाबकिताब राख्ने गरिएको उक्त डायरीमा ‘डीआईजी मामा’ भनेर एउटा नाम उल्लेख थियो । डीआईजी मामा भनिने व्यक्ति पूर्वडीआईजी निरौला भएको अनुसन्धानबाट खुलेको हो । प्रतिवादीमध्येका एसएसपी खत्रीका सवारी चालक विष्णुबहादुर खड्काले पनि ‘डीआईजी मामा’ भनिने व्यक्ति पूर्वडीआईजी निरौला नै भएको बयान दिएकाछन । तर बयानमा सुनको तस्करी हुँदा निरौलाले सहयोग गरे÷नगरेको उनले केही खुलाएका छैनन । सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दर्ता गरेको थियो । १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी सरकार पक्षको छ ।

सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा उक्त परिणामको सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेको दाबी सरकार पक्षको छ । तर तस्करी गरेको भनिएको सुन भने अझै फेला परेको छैन । गोरे मुख्य अभियुक्त रहेको मुद्दामा सनमको हत्या गरिएको घटनाबाहेक सुन तस्करी सम्बन्धी प्रमाण मजवुत नभएको बताइएको छ । प्रतिवादीले बयानका क्रममा स्वीकार गरेको विषयलाई सुन तस्करीको मुख्य प्रमाणका रूपमा पेस गर्न खोजिएको छ । सुरुमा ६३ जना मात्रै प्रतिवादी रहेको मुद्दामा तीन पटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका हुन् । प्रतिवादीमध्ये ५५ जना पक्राउ परेको र २२ जना अझैसम्म फरार रहेको अदालतका सूचना अधिकारी धमलाले बताए ।

तस्करी गरेर दुवईबाट ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोप लगाउँदै गोरेको समूहले २०७४ साल फागुन १८ गते सनमको हत्या गरेको हो । घटना भएको भोलिपल्ट शाक्यको शव राखिएको बा १२ च ५९६३ नम्बरको स्कोरपिओ र मे १ च ५३९८ नम्बरको कारसहित प्रहरीले चालकहरु मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई विराटनगरबाट पक्राउ गर्यो । त्यतिबेला फरार रहेका गोरेलाई पछि प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।