विराटनगर- विराटनगरमा बेहोस अवस्थामा भेटिएका एक युवकको उपचारका क्रममा कोसी अस्पतलामा मंगलबार बिहान मृत्यु भएको छ । उनको साथबाट नवीकरणको म्याद सकिएको एउटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला परेको छ । लाइसेन्समा नाम अमृतजंग बस्नेत र ठेगाना विराटनगर–९ उल्लेख छ ।

लाइसेन्स अनुसार उमेर २३ वर्ष हुन्छ । तर उनको परिवारका सदस्य र आफन्त नभेटिँदा थप विषयमा पुष्टि गर्न नसकिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । युवकको मृत्यु भएपछि शव कोसी अस्पतालमै राखेर आफन्त एवं परिवारका सदस्यको खोजी गर्दै पहिचानको प्रयास भइरहेको उनको भनाइ छ । श्रेष्ठका अनुसार उपचारका क्रममा अवस्था केही सामान्य बनेका बेला युवकले आफू मोरङको सुन्दरहरैँचास्थित सलकपुरको बासिन्दा भएको बताएपछि झन् अन्योल भएको छ ।

युवक सोमबार राति नेपाल–भारत सीमानजिक विराटनगर महानगरपालिका–१६ झमेली चोकमा बेहोस अवस्थामा भेटिएका थिए । सडकमा लडिरहेको देखेपछि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले राति ११ बजेतिर उद्धार गरेर उनलाई उपचारका लागि कोस अस्पताल ल्याएको थियो ।

उनको उपचारका क्रममा मंगलबार बिहान ६ः३० बजेतिर मृत्यु भएको जानकारी अस्पतालले दिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती युवा लागुऔषधका सेवनकर्ता हुनसक्ने देखिएको छ । भारतको जोगवनीबाट अत्याधिक लागुऔषध सेवन गरेर फर्कदा उनी बेहोस भएर ढलेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।