बनियानी— झापाको बिर्तामोड नगरपालिकाबाट ठूलो परिमाणमा ब्राउनसुगर र नगदसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–९ का टेकराज साह र सोही स्थानका २४ वर्षीय विकास मर्डी रहेका छन् ।

सोमबार बेलुका बिर्तामोड–१ स्थित पञ्चकन्या प्लटिङबाट जिल्ला प्रहरी कार्यालय झापा, लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई १४७ ग्राम ब्राउनसुगर र रु दुई लाख ६९ हजार ३०० सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

सुरुमा प्रहरी टोलीले जाँच गर्दा साहको साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट चार ग्राम पाँच मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । सोधपुछ गर्दा मर्डीको बिर्तामोड–१ स्थितमा डेरा कोठामा जाँच गर्दा थप १४२ ग्राम ३७ मिलिग्राम ब्राउनसुगर, नगद रु दुई लाख ६९ हजार ३००, एक थान डिजिटल तराजु, एक थान क्यानोनको डिजिटल क्यामेरा र उनले चलाउँदै आएको प्र१–०१–०१२प ९५४५ नंको एफजेड मोटरसाइकलसमेत बरामद गरिएको प्रवक्ता थापाले बताए ।