विराटनगर- करिब ३८ क्वीन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ जिल्ला अदालत मोरङमा जारी छ । फैसलाको चरणमा रहेको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा भइरहेको हो । सुनुवाइमा सोमबार सरकार पक्षका कानुन व्यवसायी (सरकारी वकिल)को बहस सकिएको छ । अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार सरकारी वकिलको बहस सकिएपछि सोमबारबाटै प्रतिवादीका कानुन व्यवसायीले पनि प्रतिरक्षा बहस प्रारम्भ गरेका छन् ।

प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएपछि उच्च प्रहरी अधिकारीसहित ७७ जना प्रतिवादी रहेको मुद्दामा अदालतले फैसला सुनाउने धमलाको भनाइ छ । मुद्दामा सरकारी वकिलले हिजो र आज बहस गरेका थिए । वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुसाल, सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले र मोरङका सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेलले बहस गरे। अपराधिक समूह स्थापना र सञ्चालन (संगठित अपराध)का विषयमा केन्द्रित रहेर भुसालले बहस गरेकाछन ।

अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धमा काफ्लेले एवं अवैध सुन चोरी निकासी र पैठारीका विषयमा पोखरेलले बहस गरे  । बहसका क्रममा सरकार पक्षका वकिलहरुले सुन तस्करी र हत्यामा प्रतिवादीहरुको संलग्नता पुष्टि गर्न खोजिएको छ । उनिहरुले प्रतिवादीलाई विगोबमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेका छन् । सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

१७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी सरकार पक्षको छ । सन् २०१५ जुलाईदेखि २०१६ अगस्टसम्ममा उक्त परिणामको सुन तस्करी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट खुलेको हो । तर तस्करी गरेको भनिएको सुन भने अझै फेला परेको छैन । मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती मुख्य अभियुक्त रहेको मुद्दामा सनमको हत्या गरिएको घटनाबाहेक सुन तस्करी सम्बन्धी प्रमाण मजवुत नभएको बताइएको छ ।

प्रतिवादीले बयानका क्रममा स्वीकार गरेको विषयलाई सुन तस्करीको मुख्य प्रमाणका रूपमा पेस गर्न खोजिएको छ । सुरुमा ६३ जना मात्रै प्रतिवादी रहेको मुद्दामा तीन पटकसम्म पूरक अभियोग दर्ता गर्दा प्रतिवादी ७७ पुगेका हुन् । प्रतिवादीमध्ये ५५ जना पक्राउ परेको र २२ जना अझैसम्म फरार रहेको अदालतका सूचना अधिकारी धमलाले बताए । मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरु सञ्जयबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल लगायतका प्रतिवादी छन् । खत्री र राउत अहिले पनि थुनामै छन् । अरु पूर्व एवं बहालवाला प्रहरी भने उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन् । यसैबीच सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीले प्रतिरक्षा बहस थालेका छन् ।

प्रतिवादीका पक्षमा बहस गर्न ८० जनाभन्दा बढी कानुन व्यवसायीले वकालातनामा दर्ता गराएको धमलाले बताए । सोमबार एक जना प्रतिवादीको पक्षमा बहस भयो । पहिलो दिन पूर्वडीआईजी निरौलाको पक्षमा बहस भएको हो । निरौलाको प्रतिरक्षामा अधिवक्ता भानुभक्त निरौलाले बहस गर्नु भयो । बहसका क्रममा उहाँले सुन तस्करी र सनम हत्यामा पूर्वडीआईजी निरौलाको संलग्नता नरहेको दाबी गरे । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करीमा सहयोग गरेको आरोप लागेका पूर्वडीआईजीले मुद्दामा सफाइ पाउनुपर्ने जिकिर अधिवक्ता निरौलाको छ । पक्राउ परेका अभियुक्तमध्ये मोहन काफ्लेको घरबाट एउटा डायरी बरामद भाएको थियो ।

त्यो डायरीमा सुन तस्करीको हिसाबकिताब राख्ने गरिएको अनुसन्धानबाट खुलेको छ । उक्त डायरीमा ‘डीआईजी मामा’ भनेर उल्लेख थियो । डीआईजी मामा भनिने व्यक्ति पूर्वडीआईजी निरौला भएको अनुसन्धानबाट खुलेको हो । प्रतिवादीमध्येका एसएसपी खत्रीका सवारी चालक विष्णुबहादुर खड्काले पनि ‘डीआईजी मामा’ भनिने व्यक्ति पूर्वडीआईजी निरौला नै भएको बयान दिएको बताइएको छ । जिल्ला अदालत मोरङको आदेशबाट थुनामा पुग्नु भएका पूर्वडीआईजी निरौला भने यसअघि नै उच्च अदालत विराटनगरको आदेशबाट छुटिसक्नु भएको छ ।

तस्करी गरेर दुवईबाट ल्याएको साढे ३३ किलो सुन गायब बनाएको आरोप लगाउँदै गोरेको समूहले २०७४ साल फागुन १८ गते सनमको हत्या गरेको हो । घटना भएको भोलिपल्ट शाक्यको शव राखिएको बा १२ च ५९६३ नम्बरको स्कोरपिओ र मे १ च ५३९८ नम्बरको कारसहित प्रहरीले चालकहरु मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई विराटनगरबाट पक्राउ गर्यो । त्यतिबेला फरार रहेका गोरेलाई पछि प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।